☰ open Loading... 20 April 2024|  

घर नै नभएको जग्गाको ‘घरबहाल कर’ वडाध्यक्षले तिर्न भनेपछि…
  | ९ बैशाख २०७६, सोमबार २०:५६

शेरबहादुर थापा
सुर्खेत ।।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेल दिनप्रतिदिन ‘छोडुवा’ बन्दै गएका छन् । वडा अध्यक्षले सोमबार वीरेन्द्रनगर नगरपालिकामा अनौठो ताण्डव प्रस्तुत गरेका छन् ।

वडाअध्यक्ष कंडेलले जग्गा मालिक कमल खड्का जुनीले चारकिल्ला प्रमाणित गर्न वडा कार्यालयबाट रसिद लिएर सहि गरि माग्दा उनले घरबहाल कर तिरेको रसिद मागे । ‘मलाई वडा अध्यक्ष नगरपालिकामा भएका र त्यहि गएर हस्ताक्षर गरिमाग्दा घर बहाल कर तिरेको रसिद ल्याउन भन्नु भयो ।’ उनले भने, ‘खाली जग्गाको म कसरी घर बहाल कर तिरौं भनेर मैले अनुरोध गरें ।’ तर अध्यक्षले दादागिरी देखाएको उनले आरोप लगाए ।

‘मैले उहाँलाई खाली जग्गाको घर बहाल कर तिर्न भनेर लिखित रुपमा लेखेर दिन माग गरें ।’ उनले भने, ‘तर उनले आफु अधिकार सम्पन्न भएको बताउँदै घरबहाल कर नतिरेसम्म हस्ताक्षर नगर्ने अडि्ड लिनुभयो । त्यसपछि म मिडियामा आएको हुँ ।’ वडा अध्यक्षले आफुलाई साढे दुइ घण्टा नगरपालिकामा तनाव दिएर बस्न बाध्य पारेको बताए । ‘मलाई साढे दुइ घण्टा नगरपालिकामा रोकियो ।

अन्य वडा कार्यालयबाट मैले जग्गाको चार किल्ला प्रमाणित गरि ल्याउन मिल्ने तर त्यहाँ नमिल्ने कारण जान्न खोजेको थिएँ ।’ उनले भने, ‘तर अन्त्यमा जे गर्नु हुन्छ गर्नुस म सहि गर्दिन भनेर वडा अध्यक्ष कंडेलले भन्नु भयो ।’ वडा कार्यालयबाट आफुले दुइ कित्ताको १०५० रुपैंया तिरेको जानकारी दिए । ‘वडा नं. ६ को कित्ता नम्बर ३९५२ र ४७०३ को जग्गा मेरो श्रीमतीको नाउँमा रहेको छ ।’ व्यवसाय समेत गर्दै आएका जुनीले भने, ‘हामी बुझेका व्यक्तिलाई त वडा अध्यक्षको यस्तो व्यवहार छ र्सवसाधारण प्रति उनको कस्तो शाशन होला ?’

त्यस्तै केहि दिन अगाडि वीरेन्द्रचौक नाबालक सालीन भारतीको नाममा रहेको जग्गाको बारेमा पनि अध्यक्ष कडेलले त्यस्तै व्यवहार देखाएका थिए । अध्यक्ष कडेलले आफु वडा अध्यक्ष रहेको र आफु अरु केही कानुन सानुन नमान्ने भन्दै वरपर रहेका काग्रेस र्समर्थकहरुलाई जबरजस्ती रुपमा सो जग्गामा नाली खन्न लगाए । यदि बाटो नै भएपनि मुआब्जा दिनुपर्ने वा दुवै पक्षसंग छलफल गराउनु पर्नेमा उनले जबरजस्ती गरेर स्थानियलाई नालि खन्न लगाए ।

दुवै पक्षसंग छलफल नगरि उनले हरेक काम जबरजस्ती गरेका छन् । कंयौ कामहरु कानुनि रुपमा नमिल्ने भएपनि उनले आफुले जे भन्यो त्यही हुनुपर्ने भन्दै जिकीर गर्दै आईरहेका छन् । वीरेन्द्रनगर भरी बाटो र अर्काको जग्गा हडपेर बसेका हरुलाई जग्गा खाली गरेको भएपनि अध्यक्ष कडेलले भने आफ्ना काग्रेस समर्थक र अन्य केही मान्छेको जग्गा खाली गराउनै मानेनन् । उनले अध्यक्ष भएर ६ नम्बर वडावासीको काम गर्नेभन्दा पनि आफुले चाहेको र आफ्ना समर्थकको मात्रै काम गर्ने गरेको बताउछन् ।

त्यो संगै आफ्नौ हैसियत नै भुलेर केहि दिन अगाडि उनले पिपल चौतारीमा भएको एउटा कार्यक्रममा आयोजकले आफुलाई जानकारी नदिएर कार्यक्रम गरेको भन्दै माईक समेत खोसेका थिए ।

यी त प्रतिनिधिमुलक घटना मात्रै हुन । स्थानीयले भने वडाअध्यक्षको दादागिरीबाट वाक्क दिक्क भएका छन् । उनले नियम कानून एकातिर आफु अर्कोतिर भएर काम गरिरहेका छन् । स्थानीय दयाराम गिरीले वडा अध्यक्षको दादागिरी बढिरहेको प्रतिक्रिया दिए ।

यता नगरपालिकाका कानुनी सल्लाहकार कृष्णबहादुर हमालले घर भएमात्रै घर बहाल कर तिर्ने कानूनी व्यवस्था रहेको बताए । ‘कानूनमा घर भएको भए मात्रै घर बहाल कर तिर्ने व्यवस्था छ ।’ उनले भने, ‘वडाअध्यक्षले त्यस्तो भन्न हुन्थेन । खाली जग्गाको चार किल्ला प्रमाणित गर्दा केहि रकम तिरे पुग्छ ।’

वडा अध्यक्ष कंडेलले भने अहिले आफु कार्यपालिका बैठकमा भएको प्रतिक्रिया दिए । ‘अहिले म कार्यपालिका बैठकमा छु हजु्र ।’ उनले भने, ‘पछि कुरा गरौंला ।’ लाेकान्तरबाट