☰ open Loading... 16 April 2024|  

सुदूरपश्चिम प्रदेश सरकार र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच सम्झौता
  | १२ बैशाख २०७६, बिहीबार १९:१२

धनगढी- सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंग सम्झौता गरेको छ।

मन्त्रालयका सचिव गोगनबहादुर हमालको रोहबरमा सेती र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच मन्त्रालयमा बिहिबार सम्झौता गरिएको हो।

सम्झौता पत्रमा प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफले, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डे र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुवै संस्थाहरूको सहकार्यमा स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक सुधारका लागी पहल गरिने सो सम्झौता पत्रमा उल्लेख छ। ‘यस कार्यबाट स्वास्थ्य सेवाका अभावबाट परेको नकारात्मक अवस्थालाई व्यवस्थापन गरि जनताको स्वास्थ्य रहने संविधान प्रदत अधिकार सुनिश्चिताको लागी सहायक हुनेछ’ सम्झौतापत्रमा भनिएको छ।

प्रतिष्ठानले अञ्चल अस्पतालमा शैक्षिक कार्यक्रमको लागी आवश्यक पर्ने सामाग्री, भौतिक पूर्वाधार र प्राविधिक सहयोग गर्ने, अस्पताललाई आवश्यक पर्ने जनशक्तिको लागी अस्पतालको माग वमोजिम सन्चालनमा रहेका शैक्षिक कार्यक्रममा नियमको अधिन भित्र रहि सम्वन्धित विभागमा दुइ जना भन्दा नघट्ने गरी कोटा निर्धारण गर्ने, अञ्चल अञ्चल अस्पतालमा पहिलो चरणमा स्थायी सरकारी चिकित्सक शैक्षिक कार्यक्रमहरू शुरू हुनु पूर्व प्रतिष्ठानको नियमानुसारसंकाय दिनुपर्ने र पछि अन्य चिकित्सकहरूलाई क्रमशः आवश्यकता अनुसार संकायमा थप गर्दै जाने, संकायमा समावेश चिकित्सकहरूलाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नियमानुसार शैक्षिक भत्ता उपलब्ध गराउनु पर्ने लगायतका नौ बु“दा उल्लेख रहेको छ।

यस्तै, अञ्चल अस्पतालहरुले एमडिजिपि÷एमडि÷एमएस रेजिडेन्ट चिकित्सकहरूलाई अस्पतालका विभिन्न विभागहरूको कार्यमा विशेषज्ञ चिकित्सकको मातहतमा रहि निजको शैक्षिक तालिका अनुरूप कार्यगर्ने अवसर प्रदान गर्ने, मिडवाईफ्री, एनेस्थेसिया असिष्टेन्ट लगायतका प्रथम पक्षबाट सन्चालित स्वास्थ्य शिक्षाको अन्य शैक्षिक कार्यक्रमका छात्रछात्राहरूको लागी प्रयोगात्मक अभ्यासको लागी शिक्षक, चिकित्सक र कार्यरत स्वास्थ्य कर्मी मिडवाइफ तथा नर्सहरूको मातहतमा रहि कार्य गर्ने अवसर प्रदान गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने अनुसन्धान कार्यमा दोश्रो पक्षको कर्मचारीहरू समेत सहभागी गर्न सहजिकरण गर्ने लगायतका चार वटा बु“दामा हष्ताक्षर गरेका छन्।

सम्झौताको यस सम्झौताको मान्य अवधि शैक्षिक कार्यक्रम सञ्चालन भएको अवधिवाट गणना गरि तीन शैक्षिक वर्ष रहने र यसलाई पुनः नविकरण गर्न सकिने जनाइएको छ।

सम्झौता गर्दा अञ्चल अस्पतालका प्रतिष्ठानका रजिष्टार, मेडिकल सुपरिटेण्डेण्टसंगै प्रतिष्ठानका प्राध्यापक डाक्टर रेशमबहादुर राना, अञ्चल अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो।

मन्त्रालयका सचिव हमालले स्वास्थ्य र शिक्षामा आइपर्ने कठिनाइलाई सहज गर्नको लागि मन्त्रालय कटिबद्ध भएर लागिरहेको बताए।