☰ open Loading... 20 April 2024|  

नेपाल टेलिभिजनको प्रदेश ब्यूरो कार्यालय उद्घाटन
  | १५ बैशाख २०७६, आईतवार १८:०१

खोज तथा अनुसन्धानमूलक समाचार प्रसारण गर्नुहोस्ः मन्त्री भण्डारी

सुर्खेत । नेपाल टेलिभिजन कर्णाली प्रदेश व्यूरो कार्यालयको आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले उद्घाटन गर्नु भएको छ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र सुर्खेतका प्रांगणमा नेपाल टेलिभिजनको व्यूरो कार्यालयको उद्घाटन गर्दे मन्त्री भण्डारीले सरकारका सञ्चार माध्यमलाई साझारुपमा विकास गरि जनतालाई भरपर्दो सूचना प्रवाह गराउन प्रदेश हरेक स्तरबाट सहयोगका लागि तयार रहेको बताउनु भयो ।

उहाँले कर्णाली प्रदेशमा प्रचुर सम्भावना रहेकाले यहाँको भ्रष्टाचार, बेथिति, विकृती विसंगतिविरुद्ध उभिएर विकास र समृद्धिको माहौल बनाउन सतही भन्दा खोज तथा अनुसन्धानमूलक समाचार प्रसारण गरि दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले नेपाल टेलिभिजनलाई नागरिकसँग सिधा जोड्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्यव गरि विकास तथा समृद्धिसँग केन्द्रीत गर्न प्रादेशिक संरचना अन्तर्गत प्रदेश कार्यालय सुर्खेतमा विस्तार गरिएको जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले देश सङ्घीय संरचनामा गएसँगै नेपाल टेलिभिजनले आफुलाई अझ बढी जनतामुखि र जवाफदेहिता बहन गर्न व्यूरो कार्यालय विस्तार गरिएको बताउनुभयो ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकाल, नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रका प्रमुख विजय वर्मा, नेपाल टेलिभिजनका व्यापार शाखा प्रमुख राजकुमार क्षेत्री, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र सुर्खेतमा प्रमुख जानकीशरण साह, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलगायतले शुभकामना दिनु भएको थियो ।