☰ open Loading... 18 April 2024|  

युट्युबका नामी
  | २१ बैशाख २०७६, शनिबार १७:३६

हाल युट्युब च्यानलबाट धेरैले पहिचान बनाएका छन्। कभर सङ, हास्यव्यंग्यका भिडियो, म्युजिक भिडियो, प्य्रांक भिडियो आदि युट्युबमा राखेर चर्चा कमाउनेको संख्या बढिरहेको छ।  


नेपालमा युट्युबको सुरुवातसँगै कैयौँ कलाकार जन्मिएका छन्। कोही हिट भएका छन् भने कतिपय सफलतातिर बामे सर्न खोजिरहेका छन्। युट्युबले कतिपय नेपालीलाई चर्चित बनाएको छ। आफ्ना भिडियो युट्युबमा राखेर छुट्टै परिचय बनाउन थुप्रै सेलिब्रिटी पनि सफल भएका छन्।

‘नेपाली प्य्रांकस्टर्स’ सम्भवतः नेपालकै पहिलो प्य्रांक युट्युब च्यानल हो। आकाश सेढाईंले सुरु गरेको यो च्यानलमा लगभग ३ लाख ४५ हजारभन्दा बढी सब्सक्राइबर  छन्। १ सय ८४ वटा भिडियो यसबाट सार्वजनिक भएका छन्। अर्का, प्य्रांकस्टर आशिष प्रसाईंको युट्युब च्यानल पनि उत्तिकै हिट छ।

उनको युट्युब च्यानल ‘प्य्रांकस्टर रिभाइभल’मा २ लाख ६ हजारभन्दा बढी सब्सक्राइबर छन् भने ८० वटा भिडियो सार्वजनिक छन्। युट्युबबाट चिनिएका यी दुई प्य्रांकस्टरमध्ये आशिषले त नेपाली फिल्म ‘अमेरिका ब्वाइज’मा अभिनय पनि गरिसकेका छन्।

युट्युबबाट परिचित अर्का कलाकार हुन्, सविन कार्की अर्थात् ‘बिस्ट’। सुरुवातमा ‘कार्टुन्ज क्रिउ’ डान्स गु्रपमा रहेका उनको अहिले आफ्नै समूह छ। उनका युट्युबमा ‘सविन कार्की–बिस्ट’ र ‘बिस्ट अफिसियल’ नामका दुई युट्युब च्यानल छन्। ती च्यानलमा उनले आफ्नो डान्सको भिडियोसँगै अन्य थुप्रै भिडियो राख्ने गरेका छन्। ३३ वटा भिडियो राखिएको उनको पहिलो च्यानलमा ३ लाख ४६ हजारभन्दा बढी सब्सक्राइबर छन् भने ३२ वटा भिडियो सार्वजनिक दोस्रोमा ३ लाख ५२ हजारभन्दा बढी सब्सक्राइबर छन्।

बढ्दो ‘भ्लगिङ’

पछिल्लो समय नेपालमा भिडियो ब्लगिङ अर्थात् ‘भ्लगिङ’ बढेको छ। युट्युबमा धेरै जनाले भ्लग बनाउन थालेका छन्। यसका साथै, नाम चलेका गायक तथा सेलिब्रिटीले पनि युट्युबमा  भ्लग गर्न सुरु गरेका छन्। जेम्स श्रेष्ठ निकै चर्चित युट्युबर हुन्।

उनले भ्लग तथा अन्य हास्यव्यंग्य भिडियो आफ्नो युट्युब च्यानलमा राख्ने गरेका छन्। साथै, अन्य भिडियोमा पनि उनले ‘रियाक्सन’ भिडियो बनाउँदै राख्ने गरेका छन्। १ सय ३० भन्दा बढी भिडियो राखिएको उनको च्यानलमा चार लाखभन्दा बढी सब्सक्राइबर छन्।

आयुष रिमाल पनि युट्युबमा लोकप्रिय छन्। हास्यव्यंग्यका भिडियो राखिएका उनको च्यानल ‘आयुष रिमाल’ मा १ लाख ८७ हजारभन्दा बढी सब्सक्राइबर छन् भने १ सय ८७ भिडियो राखिएका छन्।

युट्युब र सामाजिक सञ्जालका कारण सजिन मर्हजन पनि चर्चामा रहने गरेका छन्। युट्युबमा गीतको कभर गाउने तथा हास्य भिडियो बनाउने उनको छुट्टै परिचय बनिसकेको छ। मूल गीतलाई नै बिगारेर गाउने सजिनका गीत सुन्नेहरू मज्जाले हाँस्छन्। उनको युट्युबमा पनि ८० हजारभन्दा बढी सब्सक्राइबर छन् भने ३ सय ४० भन्दा बढी भिडियो राखिएका छन्।

सजिनजस्तै हास्यव्यंग्यमा आफ्नो परिचय बनाएका अर्का युट्युबर विनायक कुइँकेल युवा पुस्तामाझ चर्चित छन्। विभिन्न राजनीतिक तथा सामाजिक विषयमा व्यंग्य गर्दै बनाइएका उनका ‘पोडकास्ट’ भिडियो निकै लोकप्रिय छन्। उनको युट्युब च्यानल ‘ह्वाई सो अफेन्डेड’मा ६० भन्दा बढी भिडियो राखिएका छन् भने ६० हजारभन्दा बढी सब्सक्राइबर छन्।

पछिल्लो समयमा मिङ शेर्पा, सिजनराज वैद्य, सुशान्त केसी, गणेश जिडी, नेपाली प्य्रांक मिनिस्टरलगायत अन्य युट्युबर पनि लोकप्रिय छन्।

युट्युबमा सेलिब्रिटी 

आफ्ना प्रशंसकमाझ देखिइरहन नाम चलेका कलाकारले पनि युट्युब चलाउन थालेका छन्। ¥यापर गिरिश खतिवडा पनि युट्युबमा सक्रिय छन्। आफ्ना गीत मात्रै नभएर उनले भ्लगिङसँगै अरू थुप्रै भिडियो बनाएर युट्युबमा राख्ने गरेका छन्। उनको युट्युब च्यानलमा ३ सय ४० भन्दा बढी भिडियो राखिएका छन् भने २ लाख ८० हजारभन्दा बढी सब्सक्राइबर छन्।

युट्युबमा च्यानल खोलेपछि म्युजिक कम्पनीलाई गीत दिनुपर्ने झन्झट पनि घट्दै गएको सम्बद्ध संगीतकर्मी बताउँछन्। आफ्नो च्यानलमा आफ्नो गीत हाल्यो, चर्चा बटुल्यो ! पछिल्लो समयमा यो प्रवृत्ति बढ्दै गएको छ।

लोकगायक प्रकाश सपुत पनि यसरी नै आफ्नो च्यानलबाट गीत सार्वजनिक गर्छन्। उनी युट्युबमा सक्रिय छन्। उनको च्यानलबाट २७ वट  भिडियो सार्वजनिक गरिएका छन्। तीन लाखभन्दा बढी सब्सक्राइबर उनको च्यानलका छन्।

टंक बुढाथोकी पनि पछिल्लो समयमा निकै चर्चित बनेका गायक तथा संगीतकार हुन्। अशोक दर्जीका कारण उनको चर्चा झन् चुलियो। उनले आफ्ना गीत युट्युबमार्फत सार्वजनिक गर्ने गरेका छन्। त्यति मात्र नभएर, गीतको रेकर्डिङ, रियाजलगायत अन्य भिडियो पनि उनले युट्युबमा राख्ने गरेका छन्।

उनको च्यानलमा ३ सय ५० भन्दा बढी भिडियो छन्। नौ लाखभन्दा बढी सब्सक्राइबर छन्। नेपालका थुप्रै सेलिब्रिटीले युट्युब च्यानल चलाउने गरेका छन्। पछिल्लो समय महसञ्चार समूहदेखि नयाँ पुस्ताका कलाकार युट्युबमा सक्रिय छन्।

गायक बन्ने रहरले कभर

आजभोलि कभर गीत गाउनेको लर्को नै लागेको छ। कभर गीत गाएरै गीतसम्म निकाल्न भ्याइसके केहीले। पुराना नेपाली गीतलाई आफ्नो आवाजमा रेकर्ड गर्दै भिडियो बनाएर राम्रो चर्चा बटुलिरहेका छन् कतिपयले। कभर गीतकै कारण निकै चर्चा कमाएका गायक हुन्, स्वप्न सुमन।

युट्युबमा कभर गीत गाएर सुरु भएको उनको सांगीतिक यात्रा अहिले स्टेजसम्म पुगेको छ। उनले विभिन्न ठाउँमा कन्सर्ट गर्छन्, प्रस्तुति दिन्छन्। अन्य युट्युब च्यानलबाट आफ्ना गीत राख्ने गरे पनि उनको आफ्नै युट्युब च्यानल पनि छ। जसमा तीन वटा भिडियो मात्र सार्वजनिक छन्। र, ७० हजारभन्दा बढी सब्सक्राइबर छन्।

स्वप्नजस्तै त्रिशला गुरुङ पनि कभरबाटै आफूलाई गायिकाको रूपमा परिचित गराउन सफल भएकी छिन्। उनले पनि अन्य च्यानलबाट आफ्ना गीत सार्वजनिक गर्ने गरेकी छिन्। उनको आफ्नै च्यानल पनि छ। जसमा हालसम्म ४० भन्दा बढी भिडियो सार्वजनिक भइसकेका छन् भने २ लाख ९० हजारभन्दा बढी सब्सक्राइबर रहेका छन्।

जोभान भुजु पनि युवामाझ परिचित नाम हो। ‘भ्वाइस अफ नेपाल’ गायन प्रतियोगितामा सहभागी भएपछि उनको चर्चा झनै बढ्यो। उनले युट्युबमा कभर सङ गाएर आफ्नो गायन यात्रा सुरु गरेका हुन्। आफ्नै गीत निकाल्न भ्याइसके भुजुले। उनको युट्युब च्यानलमा १ सय ४० भन्दा बढी भिडियो छन्। ८० हजारभन्दा बढी सब्सक्राइबर छन्।

स्मृति श्रेष्ठ, रोजलिन श्रेष्ठ, छेवाङ लामा, श्रेया राई, निक्की कार्कीलगायत पनि युट्युबमा कभर सङ गाएरै चर्चित भएका छन्।