☰ open Loading... 25 June 2019|   मङ्लबार, असार १०, २०७६

यी हुन् गर्मी मौसममा उपयोगी तरकारी

  |

सामान्यतया जाडो मौसमको तुलनामा गर्मीमा पाचनशक्ति कमजोर हुन्छ । त्यसैले, यो वेला खानपानमा उचित ध्यान दिन नसकेमा छिट्टै रोग लाग्ने सम्भावना रहन्छ । तरकारी भिटामिन, मिनरल्स र आवश्यक पौष्टिक तत्वको राम्रो स्रोत हो । कतिपय तरकारीले शरीरमा तापक्रम बढाउने काम गर्छन् । गर्मीमा बाहिरको तापक्रम बढी हुने गर्छ । यस्तोमा तापक्रम बढाउने तरकारी खाँदा तापक्रम नियन्त्रण गर्न गाह्रो हुन्छ । यसर्थ, गर्मी मौसममा सजिलै पच्ने र हलुका तरकारी उपभोग गर्नुपर्छ । त्यसका लागि यी तरकारी उपयोगी हुन्छन् ।

सिमी
सिमीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधी क्षमता विकास गर्छ । यसबाहेक शरीरलाई आवश्यक पौष्टिक तत्व जस्तै : प्रोटिन, भिटामिन ए, बी र सी, क्याल्सियम, आइरन तथा बिटा क्यारोटिन पाइन्छ । क्यान्सर, मधुमेह र फ्याटी लिभरको समस्या कम गर्छ । त्यसैले, गर्मीमा सिमी स्वास्थ्यको लागि उपयोगी मानिन्छ ।

भन्टा 
भन्टा भिटामिन र खनिजको राम्रो स्रोत हो । यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले यो पाचन पक्रियाका लागि लाभदायी हुन्छ । सिजनमा फलेको भन्टा नियमित सेवन गर्दा हाड तथा जोर्नीको समस्या हुने सम्भावना न्यून हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले गर्मीमा लाग्न सक्ने रोगबाटसमेत बचाउँछ ।

गोलभेँडा
गोलभेँडा जुनसुकै मौसममा खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । गोलभेँडामा प्रशस्त पानी हुने भएकाले गर्मीका लागि उपयुक्त तरकारी हो । यसमा क्यालोरी ठिक्क मात्रामा (१ सय ग्रामको गोलभेडामा १८ प्रतिशत क्यालोरी) पाइन्छ । त्यसैले, यो हलुका तरकारीमध्येमा पर्छ । त्यस्तै, यसमा फाइबर र प्रोटिनसमेत पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले राम्रो हो ।

काँक्रो
प्रशस्त पानीको मात्रा हुने भएकाले काँक्रो गर्मीका लागि उपयोगी छ । त्यस्तै, काँक्रो भिटामिन र एन्टिअक्सिडेन्टको पनि राम्रो स्रोत हो । साथै, खनिज तत्वको मात्रा पनि भरपुर हुने भएकाले शरीरमा रहेका विशाक्त वस्तुलाई बाहिर निकाल्छ ।

फर्सी
गर्मीमा सजिलै उपलब्ध हुने फर्सी स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी हुन्छ । यसमा पाइने पोटासियमको मात्राले रक्तचाप नियन्त्रण गर्छ । त्यस्तै एन्टिअक्सिडेन्टले आँखाको दृष्टिमा आउने समस्या कम गर्छ । त्यसैले, नियमित फर्सीको सेवनले क्यान्सर, हृदयरोग, दम र चाँडै बुढो देखिने समस्याको जोखिम घटाउँछ ।

भेडे खुर्सानी
भेडे खुर्सानी (क्याप्सिकम) भिटामिन सी को भण्डार हो । यसमा प्रशस्त मात्रामा क्यालोरी हुन्छ । यो जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ ।

गान्टेमुला
पातसहितको गान्टे मुलामा भिटामिन फाइबर पाइन्छ । जसले पाचन प्रक्रिया सहज बनाउँछ ।

भिन्डी
भिन्डीमा एन्टिअक्सिडेन्ट, फाइबरजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लागी फाइदाजनक मानिन्छ । त्यस्तै, यसमा एक किसिमको एन्टिअक्सिडेन्ट हुन्छ, जसले तनाव व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ ।

गाँजर, लौका, घिरौला, परबल, स्कुस, कर्कलो, फर्सीको मुन्टा तथा  हरिया सागपात आदिसमेत गर्मी मौसमका लागि फाइदाजनक तरकारी हुन् । यस्ता तरकारीले शरीरमा पानीको मात्रा कायम राख्नुका साथै स्वस्थ रहन सहयोग पुर्‍याउँछन् ।

बम त्रिवि शिक्षण अस्पतालमा जनरल मेडिसिन, मेडिसिन विभागमा कार्यरत छन् ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     4:29:05 PM
error: Content is protected !!