☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

पार्टी सुध्रिए स्वतः जागरण आउँछ : शेखर कोइराला

  |

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताएका छन्। नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्ने जिकिर गरे।

‘माथि नेताहरु गुट आधारमा लडिरहने, आफ्नो स्वार्थका लागि दौडिरहने हो भने कार्यकर्ता मात्रै गतिलो भएर पार्टी बन्दैन। कांग्रेसमा कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रेर गतिलो हुनुपर्‍यो,’ कोइरालाले भने।

उनले कांग्रेसको कमजोरी कांग्रेस नै हुने अवस्थाको अन्त्य गरेमात्रै जागरण अभियान सार्थक हुने बताए। वर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको भन्दै नेता कोइरालाले सरकारको कदमविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई नेतृत्वले प्रेरित गर्नुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जागरण अभियान कांग्रेसको आन्तरिक एकता मजबुद पार्नका लागि भएको भन्दै एकताबिना कम्युनिष्टसंगको प्रतिस्पर्धा सहज नहुने बताए। ‘दुई तिहाईको सरकारमा रहेका कम्युनिष्टसँग विभाजित मानसिकताले लड्न सकिन्न। कांग्रेसभित्र एकता भयो भने संसारका कम्युनिष्ट मिलेपनि हामी जित्छौं,’ पौडेलले भने।

उनले सरकारका लोकतन्त्र विरोधी कदमबाट जनता हैरान भएको भन्दै कांग्रेसले गाउँगाउँमा पुगेर जनताको हौसला बढाउनेगरी काम गर्नुपर्ने सुझाए।

प्रकाशित मितिः आइतवार, जेष्ठ ५, २०७६     6:56:17 PM
error: Content is protected !!