☰ open Loading... 19 April 2024|  

मुगुमा ५० शैयाको अस्पताल बन्दै, ९० प्रतिशत काम सम्पन्न
  | ९ जेष्ठ २०७६, बिहीबार १८:२९

मुगु : मुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग (कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।


२०७३ साउन अन्तिम सातादेखि निर्माण कार्य थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको छ। लुम्बिनी बिल्डर्सले निर्माण कार्यको जिम्मा लिइएको भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायत काम धमाधम भइरहेको छ।
कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँर अनुसार २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण कार्य सकिने छ । अस्पातल भवन तीनतले र ६० कोठा रहेको छ। अस्पताल अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ।
अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ। कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ ।

२० करोडको उपकरण 
अस्पताल भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत मुगुमै जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।

भवन अभावमा बिरामीको बिचल्ली 
जिल्ला अस्पताल मुगुमा भवन अभाव हुँदा एकै कोठामा बिरामीले खचाखच छ। एक कोठामा २० जनाभन्दा बढी बिरामी राखिएको छ।  पुरानो भौतिक संरचना भत्काई नयाँ भवन बन्दै गरेकाले एकै कोठामा बिरामी राख्नुको विकल्प नभएको जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबलबहादुर मल्लले बताए।

यसअघि अस्पतालमा १५ शय्याको रहे पनि स्तरोन्नति गरी ५० शय्याको बनाउने पहल गरिरहेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पारसमणि मल्लले बताए।

थाहाखबरबाट