☰ open Loading... 25 April 2024|  

तोकिएको समय भन्दा अगावै जिल्ला प्रशासनको भवन निर्माण सम्पन्न
  | ९ जेष्ठ २०७६, बिहीबार १८:३७

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको भवन तोकिएको समय भन्दा अगाडिनै निर्माण सम्पन्न भएको छ । यसै वर्षको भाद्र मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने भवन निर्धारित समय भन्दा करिब चार महिना अगाडि नै सम्पन्न भएको हो । ६ करोड १९ लाख रुपैयाँको लागतमा साढे तीन वर्षमा काम सम्पन्न गर्ने गरी राजेन्द्र–देवसिंह–एल.वि. कन्ट्रक्सनसँग सम्झौता भएकोमा निर्माण कम्पनिले निर्धारित समयभन्दा अगाडि नै २५ कोठे अत्याधुनिक भवनको काम सम्पन्न गरेको छ । भवन ७ सय १ दशमलव ३ वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

निर्माणको लागि जिल्ला प्रशासन कार्यालयदेखि सबै निकायको सहयोग रहेकाले निर्धारित समय अगावै भवन निर्माण सम्पन्न भएको कम्पनिका प्रतिनिधि आनन्द बमले बताए  ।भवन निर्माणको लागि दिउँसो र राति गरी दुई सिफ्टमा काम भएको थियो । ‘कामका लागि हामीलाई कतैबाट पनि असहयोग भएन, हामिले दिन रात नभनि काम गर्यौं,’ उनले भने, ‘दिउँसो र राति गरी दुई सिफ्टमा काम भयो, रातको २ बजेसम्म काम गरियो ।’

सम्झौता अनुसार गुणस्तरीय काम भएको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका सव–इन्जिनियर मोहन केसीले बताए । आफुले भवनको सुपरिवेक्षण गर्दा मापदण्ड पु¥याएरै भवन निर्माणको काम भएको पाएको केसीको भनाई छ ।

सेवा प्रवाहका लागि प्रयाप्त भौतिक संरचना 
वर्षौ सम्म साँघुरो भौतिक संरचनामा सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयले अब भने प्रयाप्त भौतिक संरचनाको उपयोगबाट सेवा दिने भएको छ । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउँने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । हामीले यसअघि सिमित भौतिक संरचनाको उपयोग गरी सेवा दिँदा भने जस्तो सेवा प्रवाह गर्न सकेका थिएनौ,’ उनले भने, ‘अब प्रयाप्त संरचना बनेको छ, यसले सेवा प्रवाहलाई सहज बनाउने छ ।’

भवन निर्माण सकिएसँगै प्रशासनले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ यसअघि जिल्ला प्रशासनले जिल्ला समन्वय समिति रहेको ठाउँबाट सेवा दिइरहेको थियो । जिल्ला प्रशासन कार्यालयले झण्डै तीन वर्ष जिल्ला समन्व्य समितिको भवनबाट सेवा प्रवाह गरेको थियो ।