☰ open Loading... 19 April 2024|  

तिला, हिमा र जवा नदीको गिटी–बालुवा उत्खननमा रोक
  | १० जेष्ठ २०७६, शुक्रबार १४:४०

गिटी, बालुवा र ढुंगा जथाभावी संकलन र निकासी हुन थालेपछि जुम्लाको तिला, हिमा र जवा नदीमा उत्खननमा रोक लगाएको छ । जिल्ला समन्वय समितिको नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन र बिक्रीसम्बन्धी अनुगमन तथा समन्वय समितिले रोक लगाएको हो ।

केही समयदेखि तिला, कर्णालीको त्रिवेणी, राँका, बाबिरा, उठिल्या, दानसाँघु र लुम्सेरा तथा हिमानदी, नराकोट र पातारासीको जवा नदीमा जथाभावी उत्खनन्, संकलन र निकासी हुँदै आएको थियो । त्यस विषयमा सबैतिरबाट विरोध हुन थालेपछि बसेको समितिको बैठकले रोक लगाउने निर्णय गरेको हो ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी भइरहेको नदीजन्य वस्तुको उत्खनन्, संकलन र निकासी रोक्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उप–प्रमुख कार्मा बुढाले बताए । उनका अनुसार जिल्लाका आठै स्थानीय तहमा नदी उत्खननमा रोक लगाउने निर्णय गरिएको हो । जथाभावी गरिएको उत्खननले नदीकटान, खेतीयोग्य जमिन जोखिम र क्षयीकरणको समस्या बढेको उनले बताए ।

उत्खननमा रोक लगाएको र निर्णयविपरीत गरिएको पाइए कारबाही हुने समितिले जनाएको छ । ‘नदीजन्य वस्तु ढुंगा, गिटी र बालुवा तथा खानीजन्य वस्तुको उत्खनन, संकलन र चोरी निकासीसम्बन्धी प्रक्रियाको प्रभावकारी रूपमा अनुगमन तथा नियमन गरिनेछ,’ समितिको निर्णयमा भनिएको छ, ‘तत्काल चोरी निकासी रोक्न स्थानीय तहलाई जानकारीका साथै पहिलेको जस्तो नदीजन्य वस्तुको चोरी निकासी भएको भेटिएमा कडा कारबाही गरिनेछ ।’

समितिले अब नदीजन्य पदार्थको उत्खनन, संकलन र निकासी गर्नेलाई सजाय पनि तोकेको छ । पहिलोपटक प्रति ट्र्याक्टर पाँच हजार र टिपरमा १० हजार रुपैयाँ जरिवाना गरिनेछ । दोस्रोपटक भने दोब्बर सजाय गरिने समिलिते जनाएको छ । त्यस्तै, चोरी निकासी भएको सूचना दिने व्यक्तिलाई पनि पुरस्कृत गरिने भएको छ । जरिवानाको २५ प्रतिशत सूचना दिने व्यक्तिले पाउनेछ ।

अनुगमन समिति गठन
यसको अनुगमन गर्र्नका लागि जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको नेतृत्वमा समिति गठन गरिएको छ । यसमा जिसस उपप्रमुख कार्मा बुढा, सिडिओ दुर्गा बन्जाडे, डिएसपी सीताराम रिजाललगायत आठ सदस्यीय समितिले अनुगमन गर्ने जनाएको छ । स्थानीय प्रशासनले बल प्रयोग गरेर भए पनि उत्खनन, संकलन र निकासी रोकिने सहायक सिडिओ देवेन्द्रप्रसाद श्रेष्ठले बताए ।

नयाँपत्रिका