☰ open Loading... 22 September 2019|   आइतवार, अशोज ५, २०७६

वादी समुदायको पुर्ख्यौली पेसा संकटमा

  |

सल्यान : खोलामा माछा पाइन छाडेपछि वादी समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ। जलवायु परिवर्तनको प्रभाव, खोलामा पानीको सतह घट्नु र करेन्ट तथा विषादीको प्रयोग लगायतका कारणले वादी समुदायको पुर्ख्यौली पेशा संकटमा पर्दै जान थालेको हो।

शारदा खोलामा वर्षौंदेखि माछा मार्दै आएका त्रिवेणी गाउँपालिकाका ४२ वर्षीय लालबहादुर वादीले पुर्ख्यौली पेसा संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको बताए। ‘पहिले जालको सहायताले माछा मार्थ्यौँ, दैनिक दश किलोसम्म माछा पाइन्थ्यो, उनले भने, ‘अहिले बल्छीले माछा मार्न थालेका छौँ, दिनमा एक किलो माछा भेटाउनसमेत समस्या छ। खोलामा माछा नभएका कारण जीविकोपार्जनमा समस्या आएपछि वादी समुदायले पेसा बदल्न थालेको उनले बताए।

पहिले माछा बेचेर राम्रोसँग घरखर्च चलाएका उनले साँझ–बिहानको छाक टार्न समस्या भएको जनाए। जलवायु परिवर्तनका कारण खोलामा पानीको सतह र माछाको संख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ। स्थानीय दीर्घबहादुर बादीले ३० वर्षदेखि अपनाउँदै आएको पुर्ख्यौली पेसा बदल्न थालेका छन्। ‘पहिले खोलामा पानी प्रशस्तै हुन्थ्यो, मानिसले करेन्ट लगाउने, विष हाल्ने काम गर्दथे। त्यसैबाट घरखर्च राम्ररी चलेको थियो। अहिले माछा पाउनै गाह्रो छ, त्यसैले हाम्रो पेसा पनि संकटमा पर्‍यो’ उनले भने। शारदा खोलामा माछा मारेर जीविकोपार्जन गर्दै आएका दुई दर्जन बढी वादी समुदायले पेसा परिवर्तन गरेका छन्। अधिकांश मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् भने केहीले गाउँमै मजदुरी गरिरहेका छन्।

उनले सरकारी निकायबाट सहयोग भए व्यावसायिक माछा पालन गरेर आफूहरू आत्मनिर्भर बन्नसक्ने बताए। उनका अनुसार जीविकोपार्जनमा समस्या भएपछि वादी समुदायका बालबालिका सानै उमेरमा मजदुरी गर्न बाध्य छन्। अधिकांश बादी परिवारलाई साँझबिहानको छाक टार्न समस्या छ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १६, २०७६     12:30:37 PM
error: Content is protected !!