☰ open Loading... 20 April 2024|  

यार्सा संकलक सर्वसाधारणका लागि ९ ठाउँमा स्वास्थ्य शिविर
  | २० जेष्ठ २०७६, सोमबार १८:४६

जाजरकोट : हजारौं सर्वसाधारणहरू डोल्पाका पाटनमा पाइने यार्सागुम्वा संकलनका लागि गएपछि उनीहरूको ज्यान जोगाउन पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विभिन्न ९ वटा पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी संकलनकर्ता विरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निमित्त प्रमुख रनलाल कुलालले जानकारी दिए।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले बताए। अहिले जिल्लाका सवै ठाउँमा हिउँ पग्ली सकेकोले यार्सा संकलनको कार्य सुरु भएको छ। जेठ १७ गते देखि ४ ठाउँमा एचएसहितको टिम र ५ ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो।

जिल्लाको सवै भन्दा बढी र्यासागुम्वा पाइने र संकलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्राथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिइन्। फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजुरु लगायतका पाटनलाई लक्षित गरी ९ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिइन्। पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ।

यार्सापाटनमा संकलनकर्तको भीडको आधारमा शिविर थप समय निरन्तर दिने वा बन्द गर्ने तयार हुने प्रमुख कुलालले जानकारी दिए। शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उनले बताए। सुरुका दिनमा नै यार्सा संकलक विरामी हुने संख्या बढ्ने भएकाले सोही अनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाई छ। त्यस्तै अन्य सुरक्षाको लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए। स्वास्थ्य शिविर सञ्चालन गर्नु पूर्व नै ५ जनाको मृत्यु भइसकेको छ।

हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहोर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा विरामी हुने गरेका छन्। सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्य समयमै खवर, आदान प्रदान हुन समस्य भएको छ। जाजरकोट र रुकुमका यार्सा संकलनकर्ताहरू बढी विरामी हुने गरेका छन्। पाटनमा हुने हावापानी र मौसमसँग समायोजन हुन नसक्दा विरामी हुनेको संख्या बढेको हो। अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताइन्। औषधि नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहल कदमी लिएको उनले बताइन्। अहिले १० हजार भन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सा संकलन गरिरहेका छन्।

वृद्ध, बालबालिका र बिभिन्न रोगबाट संक्रमित भएका संकलनकर्तालाई स्वास्थ्य समस्य आउने गरेको छ।  डोल्पाको सदरमुकाम दुनैबाट पैदल ४ दिन भन्दा बढी समय हिडेर यार्सा संकलन गर्ने कार्य हुँदै आएको  छ। एकै घरमा ५ जना भन्दा बढी सर्वसाधारण यार्साको खोजीमा पाटन गएपछि गाउँ नै सुनसान भएको छ। पाटनमा यार्सा संकलनकर्ताले स्वास्थ्यलाई ध्यान दिएर मात्र यार्सा खोज्न आग्रह गरिएको छ।  तातो कपडा, तातोपानी , पौष्टिकयुक्त खानेकुरा सेवन गर्न आग्रह गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका सूचना अधिकारी छत्र कार्कीले बताए। आफ्ना आसपासमा रहेका साथी-भाइ विरामी पर्दा तुरुन्तै शिविरसम्म ल्याउन र खवर गर्न अनुरोध गरिएको छ।

यार्सा पाइने सामुदायिक वनका पदाधिकारीलाई समेत यार्सागुम्वा संकलनकर्तालाई सहयोग गर्न पनि आग्रह गरिएको छ। पाटन क्षेत्रनजिक भएका माथिल्लो डोल्पाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू समेत पाटनमा परिचालन गरिएको छ। सर्वसाधारणको ज्यु-धनको सुरक्षा गर्न र संकलनलाई व्यवस्थित बनाउनका सर्वपक्षीय सहमति अनुसार काम गरिएको प्रजिअ केसरीले बताए।

थाहाखबर