☰ open Loading... 19 April 2024|  

मध्यपहाडी लोकमार्ग निर्माणले गति लिँदै
  | २१ जेष्ठ २०७६, मंगलवार २०:३७

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पश्चिमी र पूर्वी रुकुममा निर्माणले गति लिन थालेको छ । दुवै जिल्लामा आठ खण्ड छन् । जसमध्ये सात खण्डमा कालोपत्रेको काम हुन थालेको हो । एउटा खण्डमा ठेक्का सम्झौता हुन सकेको छैन । पश्चिमी रुकुमको सदरमुकाम मुसीकोट–५ सेरिगाउँदेखि सानीभेरी गाउँपालिका–९ हासिवाङ जोड्ने १२ किलोमिटर सडकखण्डको ठेक्का लाग्न सकेको छैन ।

 

कालोपत्रेका लागि ठेक्का लागिसकेको पूर्वी रुकुमका दुईवटा खण्ड र पश्चिमी रुकुमको एउटा खण्डको निर्माण निर्धारित समयभन्दा अगाडि नै सक्ने गरी काम भइरहेको जनाएको छ । भूमे गाउँपालिकाको किमुबोटदेखि तुकुवाङखोलासम्म १६ किमी, तुकुवाङखोलादेखि बाग्लुङको सिमानासम्मको १३ किमी र पश्चिमी रुकुमस्थित मुसीकोट नगरपालिकाको शितलपोखरीदेखि ऋणदहसम्मको १४ किमी सडकको कालोपत्रे समय भन्दै अगाडि नै सक्न लागेको निर्माण कम्पनीले जनाएको छ ।

किमुबोटदेखि तुकबाङखोलासम्मको सडक स्तरोन्नति गरिरहेको चन्द्रा एन्ड वसन्त निर्माण कम्पनीका साइट इन्चार्ज विष्णु राउतले जेठभित्रै कालोपत्रे सकिने बताए । त्यस्तै, पूर्वी रुकुमदेखि पश्चिमी रकुमको ऋणदहसम्मको १२ किमी खण्डमा पनि ठेक्का सम्झौता भइरहेको छ । ऋणदहदेखि पश्चिमतर्फ शीतलपोखरीसम्मको १४ किमी सडकखण्डमा कालोपत्रे भइरहेको छ । यस्तै, हासिवाङदेखि चौरजहारी नगरपालिकाको भेरी पुलसम्मको साढे ३२ किमी सडकखण्डमा ग्राभेल हालिँदै छ । दिवा–चन्द्रा एन्ड वसन्त जेभीले दुई खण्ड बनाएर काम भइरहेको जनाएको छ ।

गाह्रो खण्डमा अलमल
एक सय २३ दशमलव ५ किमीमध्ये पश्चिमी र पूर्वी रुकुम जोड्ने सेरिगाउँ–हासिवाङ खण्ड अप्ठेरो मानिएको छ । यही खण्डमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग सडक आयोजना दैलेखले छिट्टै ठेक्का सम्झौता हुने जनाएको छ । योजनाप्रमुख नारायणप्रसाद निहुरेले यस खण्ड स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा रहेको बताए । कच्ची भूगोलमा रहेको यो खण्डको केही भाग वर्षात्मा तल र माथिबाट झर्ने गर्छ । जसले गर्दा यात्रुले सास्ती पाउने गरेका छन् ।