☰ open Loading... 20 November 2019|   बुधबार, मंसिर ४, २०७६

डाक्टरदेखि डर लाग्छ…

  |

काठमाडौँ, हाम्रो समाजमा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि अस्पताल जानुपर्छ भन्ने चेतना छैन । ट्वाइलेट गएपछि हात धुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर मान्छे फेरि पनि हात किन धुँदैनन् ? चेतना शिक्षासँगभन्दा बढी व्यवहारसँग जोडिन्छ । अस्पताल जाने कुरा शिक्षासँगै व्यवहारमा पनि भर पर्छ ।

सास नफेर्नोस् है, नत्र सुईले फोक्सो छेडिन सक्छ ।’ करिब ९ वर्षअघि वीर अस्पतालमा डाक्टरले यसो भन्दै गर्दा म आत्तिएको थिएँ । मेरो छातीको पछाडिबाट सुई छेडिंदै मेरो फोक्सोसम्म पुर्‍याइएको थियो । सिटी स्क्यानले मेरो फोक्सोमा सानो बिमिराजस्तो केही पलाएको देखाएको थियो । त्यो कतै क्यान्सर त होइन भनेर जाँच्न मेरो फोक्सोको बिमिराको केही अंश सुईले तान्न खोजिँदै थियो । ‘यदि यो निकाल्दा सुईले फोक्सोमा प्वाल परेर बिरामीको मृत्यु भएमा अस्पताल दोषी हुनेछैन’ भनेर पहिले नै मलाई अनि बुवालाई कागज गराइएको हुनाले बुवा झन् आत्तिनुभएको थियो । म त झन् सासै नफेरी, नहल्लीकन बसेको थिएँ । मेरो फोक्सोमा सुई छेड्ने डाक्टरले भने हाम्रो डरलाई बुझिरहेकै थिएनन् । उनी घरी फोन गर्दै, घरी अर्को डाक्टरसँग गफ गर्दै मेरो छाती पछाडिबाट सुई छिराउँदै थिए । म सास रोकेर नै बसेको थिएँ । केही समयपछि म निसासिन थालेँ, आत्तिन थालेँ । तर, डाक्टरले मलाई न सास फेर्नुस् भने न केही निर्देशन नै दिए । सास फेरौँ सुईले फोक्सो प्वाल पर्ला, नफेरौं आफूले थेग्न नसक्ने भइसकेको थियो । बोल्दा पनि केही होला कि भन्ने डरले बोलिनँ । एक मिनेट जति पछि अलिअलि सास फेरेछु । त्यो केही पल मेरो जिन्दगीको ठूलो कालखण्ड थियो ।

त्यो सुईबाट निकालिएको भाग क्यान्सर हो कि भनेर जाँच गरियो । भाग्यवश, क्यान्सर थिएन । अस्पतालबाट क्लिनिक अनि क्लिनिकबाट अर्को क्लिनिक गर्दै म डाक्टरहरू चहार्दै थिएँ । कोही टीबी भयो भन्थे, औषधि दिन्थे । कोही होइन भन्थे । पत्ता लाग्नै सकेन । टीबी नै हुन सक्ने भनेर ६ महिना औषधि खुवाइयो । त्यो बेला, मैले करिब २ वर्ष अस्पताल अनि कडाकडा एन्टिबायोटिक औषधिमै बिताएँ । २०–२२ वर्षे उमेरमा मैंले बेहोरेको यो पीडादायी दैनिकी थियो ।

मलाई सिटी स्यानका लागि वीर अस्पतालबाट प्राइभेट अस्पतालमा रिफर गरिन्थ्यो । एक्स–रे यहाँ गर्नुहोस् भनेर वीर अस्पताल नजिकैको प्राइभेट क्लिनिकमा पठाइन्थ्यो । प्राइभेट अस्पताल अनि क्लिनिकले कर्मचारी र डाक्टरलाई कमिसन दिने रहेछ, पछि थाहा भयो । झन् अन्य ल्याबमा टेस्ट गरेर हुँदैन, मेरै क्लिनिकको ल्याबमा जाँच्नुपर्छ भन्ने डाक्टरहरू देख्दा त डाक्टरभन्दा व्यापारी पो हुन् कि भन्नेजस्तो लाग्छ । त्यो दुई वर्षमा मैले निजी क्लिनिक अनि अस्पतालबाट यति भोगेँ कि आज मलाई डाक्टर अनि अस्पताल भन्नेबित्तिकै डर लाग्छ । अहिले स्वास्थ्योपचार ‘सेवा’ होइन ‘व्यापार’ बनेको छ । सबैलाई एउटै डालोमा हाल्न त मिल्दैन तर अधिकांशमा यही लागू हुन्छ । नत्र, अहिले प्राइभेट अस्पतालमा बच्चा जन्मँदा किन अधिकांशको अपरेसन हुन्छ ? साथै, बच्चा जन्मिनेबित्तिकै किन सासको समस्या छ भनेर ‘एनआईसीयू’ मा राखिन्छ ? मैले भोगेको छु ।

अपरेसन गर्दा अपरेसन कक्षबाट पटकपटक औषधि मगाइन्छ तर त्यो औषधि सबै प्रयोग नगरेको भान हुन्छ । यो अपारदर्शिता किन छ ? साथै, औषधि लेख्दा डाक्टरले किन महँगो ब्रान्डकै लेख्छन् ? अनि त्यही ब्रान्डका एजेन्टहरू डाक्टरसँग क्लिनिक सकिएपछि किन बस्छन् ? कसरी दसौँ लाख भाडा तिरेर औषधि पसलेहरूले व्यवसाय चलाउँछन् ? बिरामीलाई आधा रोग निको नहुनुको कारण कतै डाक्टर अनि अस्पतालको यी व्यवहार त बन्दै छैनन् ?

डाक्टरले बिरामीलाई जाँच्दा हतारहतार जाँच्नुपर्ने बाध्यता किन छ ? अस्पतालबाट छिटोछिटो निस्किएर क्लिनिकमा रहेको लामो लाइनलाई हतारमा जाँचेर पठाउँदा हामीले बिरामीमा कस्तो सन्देश दिइरहेका छौँ ? एउटा सामान्य रोग लाग्दा घर खेत बेच्नुपर्ने अवस्थाले आम मध्यम वर्गको परिवारमा कस्तो असर पारेको छ, कसले बुझ्ने ? कसले सुधार्ने ? झन् बिरामीले पैसा तिर्न नसकेर आत्महत्या गर्नुपर्ने देश समाजवादउन्मुख भनेर कसरी पत्याउने ? मेरो चिन्ता स्वास्थ्य सेवामा पहुँच भएर पनि त्यो आस्था अनि विश्वास भएन भने के गर्ने भन्ने हो ।
स्वास्थ्य सेवामा समस्या धेरै छन् । समस्या नीतिगत छन्, संरचनात्मक छन्, अनि व्यावहारिक पाटोमा छन् । साथै, हामी डाक्टर कसरी बनाउँदै छौँ भन्ने कुरामा पनि गम्भीर समस्या छ । नेपालमा अहिले करिब ८५ प्रतिशत डाक्टरहरू करोडौँ लगानी गरेर पढ्छन् जसले गर्दा यो विधा व्यापारिक बन्दै छ । चिकित्सा पेसाको क्षेत्रमा ‘सेवा’ को भाव हट्दै छ ।

एउटै कुरा धेरै पटक गरेपछि अनि गर्न भनेपछि त्यो व्यवहार बन्छ । त्यही व्यवहार नै स्थापित हुँदै, पुस्तातरण हुँदै संस्कार बन्छ । हाम्रो समाजमा स्वास्थ्य सेवाप्रतिको चेत छैन । हामीमा अस्पताल जाने संस्कार नै विकास गर्नु छ । तर, जुन डर अस्पतालले पैदा गर्दै छन् त्यसको कारण अस्पताल जाने संस्कार झन् घट्दो छ ।

अर्को महत्त्वपूर्ण पाटो, डाक्टर र बिरामबीचको सम्बन्ध हो । डाक्टरले बिरामीसँग राख्ने सहज वा अहसज सम्बन्धकै आधारमा बिरामी आफ्नो रोगका बारेमा खुलस्त हुन सक्छन् । डाक्टरलाई जति बढी स्वास्थ्य समस्या बतायो, उती कडा औषधि लेखिदिन्छन् । अनि टेस्ट पनि अनगिन्ती हुन्छ । अहिले नेपाली समाजमा मौन यथार्थ के हो भने, हामी डाक्टरसँग ‘डराउँछौं’ जसले गर्दा अस्पताल जानै रुचाउँदैनौं । झन् अहिलेको समय त हाम्रो विश्वास नै टुट्दै गएको छ । यो टुट्दै गएको विश्वासलाई जोड्नु जरुरी छ । साथै, हामीले डाक्टरलाई भगवान् पनि बनाउनु हुँदैन अनि केही कमजोरी भएमा दानवको रूपमा चित्रण गर्नु पनि हुँदैन । डाक्टरलाई उच्च सम्मानसहित मानव नै रहन दिनुपर्छ ।

मेरो बुवा नातिनातिनाका लागि दिनको हजार रुपैयाँ खर्च गर्नुहुन्छ तर आफ्ना लागि ५ सय रुपैयाँ खचर्दै अस्पताल जानुहुन्न । पैसाको लोभले होइन । सायद उहाँको मनमा एउटा डर छ, जुन डर मेरो मनमा पनि छ । यो डरभन्दा बढी अविश्वास हो । तसर्थ, यो डर र अविश्वासलाई छिटोभन्दा छिटो रोकिनु जरुरी छ । नत्र भविष्यमा ‘डाक्टर मेरो साथी’ अभियान चलाउन पर्ने स्थिति नआउला भन्न सकिन्न ।

कान्तिपूरबाट

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     8:52:42 PM
error: Content is protected !!