☰ open Loading... 19 April 2024|  

चीनले ५ महिनामै बनायो नेपाल जोड्ने मितेरी पुल
  | २३ जेष्ठ २०७६, बिहीबार १८:२०

रसुवा : चीन जोड्ने मितेरी पुल निर्माण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै चीन जोड्ने मितेरी पुलको चीन सरकारले निर्माण सम्पन्न गरेको हो।  पुल पुननिर्माण भएसँगै नयाँ बनेको पुलबाट बिहीबार बिहानदेखि सवारी सञ्चालनमा आएको रसुवा भन्सार कार्यलय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए।

‘चीन जोड्ने मितेरी पुलको निर्माण सम्पन्न भएको छ, पक्की पुल निर्माण सुरु गरिएसँगै आवतजावतका लागि चीनले अस्थायी पुल निर्माण गरेको थियो’, उनले भने, ‘अहिले पक्की पुल निर्माण सम्पन्न भएसँगै सवारी आवतजावत सुरु भएको छ।’ पुल निर्माणका लागि जिम्मेवारी पाएको तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले निर्माण सुरु गरेको करिब ५ महिनामै निर्माण गरेको खड्काले बताए।  गत सेप्टेम्बरबाट सुरु गरेर २०१९ मे महिनासम्ममा पुलको निर्माण गर्ने लक्ष्य चीनले लिएको थियो। पुलको पुननिर्माण ढिलो गरी सुरु भएपनि तोकिएको समयमै सकेको निर्माण पक्षले जनाएको छ।

अनौपचारिकरुपमा नेपाल सरकारलाई पुल हस्तान्तरण गर्न बाँकी छ। जेठ अन्तिमसम्म सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको चिनियाँ पक्षले जनाएको छ। २०७२ बैशाख १२ को विनासकारी भूकम्पले मितेरी पुलमा क्षति पुगेको थियो। भूकम्पका बेला पहिरोसँगै झरेको ढुंगा लागेर पुरानो मितेरी पुलको बीचमा ठूलो प्वाल पारेको थियो।

पुरानो पुल काम नलाग्ने भएपछि भत्काएर नयाँ पुल निर्माण गरिएको हो। मितेरी पुल निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवर्द्ध र चीन सरकारको वान वेल्ट वान रोडको अवधारणमा सयोग पुग्ने विश्वास गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए।  पुलको लम्बाई ११४ मिटर र चौडाइ ९.५ मिटर छ।

पुलको पुनर्निर्माणका लागि गत जुन २१ तारिखमा सम्झौता भएको थियो। पुल निर्माणसँगै नेपालतर्फ करिब १ सय ५० मिटर डबल लेनको सडक ढलानसमेत भएको छ। पुरानो पुलभन्दा ५ मिटर उत्तरपूर्वमा नयाँ पुल निर्माण भएको हो। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट आयात निर्यात बढ्दै गएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै नाकामा चहलपहल बढेको छ।

यो नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय  भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको छ। चीनले रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै नाकामा चहलपहल बढेको हो।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपाल तर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, बिद्युतीय र इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ। नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने गरेको छ।

थाहाखबरबाट