☰ open Loading... 20 April 2024|  

कम्प्युटर भिजन सिन्ड्रोमबाट बच्न एन्टिग्लेयर चस्मा
  | २७ जेष्ठ २०७६, सोमबार १८:३८

कम्प्युटर, ल्यापटप, मोबाइललगायत डिजिटल वस्तुको लामो समयसम्मको प्रयोगका कारण आँखा र दृष्टिमा आउने समस्या कम्प्युटर भिजन सिन्ड्रोम हो । कार्यालयमा कम्प्युटरको बढ्दो प्रयोग, भर्चुअल सामाजिक सञ्जाल, एन्ड्रोइड फोनको उच्च प्रयोगका कारण आजकल अधिकांशमा भिजन सिन्ड्रोमको समस्या देखिने गरेको छ ।

स्क्रिनको नियमित काम गर्दा सुरुमा सामान्य समस्या देखिए पनि पछि गएर दृष्टिमा जटिल समस्या निम्तिन्छन् । सामान्यतया लगातार दुई घन्टाभन्दा बढी स्क्रिनमा हेर्ने व्यक्तिमा भिजन सिन्ड्रोमको समस्या देखिन्छ ।

लक्षण

  • आँखा र टाउको दुख्ने गर्छ । बिस्तारै दृष्टिमा धमिलोपन आउँछ ।
  • आँखा चिलाउने, पोल्ने, सुक्खा हुने र बटारिने हुन्छ ।
  • लामो समय भएपछि घाँटी वा कुम दुख्ने समस्या हुन्छ । त्यस्तै, गर्दन र वरपरका मांसपेशीमा समस्या देखिन थाल्छ ।
  • कम्प्युटरमा धेरैबेर काम गरिसकेपछि आँसु आउने हुन्छ । बिस्तारै विद्युतीय उपकरणबाट निस्कने उज्यालो प्रकाश सहन नसक्ने हुन्छ ।
  • कामको समयमा थकान महसुस हुन थाल्छ । पछि गएर कामप्रति झर्को लाग्ने र तनाव बढ्नेखालका समस्या देखिन्छन् ।

कारण

  • कम्प्युटर वा मोबाइल चलाउने कोठामा प्रकाश नमिल्नु कम्प्युटर भिजन सिन्ड्रोमको मुख्य कारण हो । बाहिरी स्रोतबाट आउने प्रकाश सीधै स्क्रिनमा परेमा परावर्तन भई आँखामा पर्ने हुन्छ । त्यस्तै, कम्प्युटर स्क्रिनमा कुनै वस्तु टल्किएमा वा चम्किएमा दृष्टिमा असर पर्छ ।
  • कम्प्युटर र आँखाको दूरी नमिलेमा पनि भिजन सिन्ड्रोम हुन्छ । त्यस्तै, बसाइ व्यवस्थापन नहुँदा पनि दृष्टिमा असर पुगिरहेको हुन्छ ।
  • पहिलेदेखि दूरदृष्टि र अदूरदृष्टि भएका मानिसमा अन्यमा भन्दा बढी असर पर्छ ।
  • स्क्रिनमा लगातार लामो समयसम्म पढिरहनु र डिस्प्ले, रेजुलेसन, अक्षर, फन्टको आकार र कलरको कन्ट्रास्ट अस्वाभाविक रूपले चर्को वा मधुरो हुनु भिजन सिन्ड्रोमका मुख्य कारण हुन् ।

समाधान

  • कम्प्युटरको स्क्रिन आँखाको लेभलभन्दा १५ देखि २५ डिग्री तल र कम्तीमा २५ इन्च पर हुनुपर्छ । त्यस्तै, कम्प्युटरको माथिल्लो भाग तल्लोभन्दा ३० डिग्री झुकेको हुनुपर्छ ।
  • प्रकाशको व्यवस्थापन गर्नुपर्छ । अन्य स्रोतबाट आउने प्रकाश सीधै स्क्रिनमा पर्न दिनुहुँदैन । बाहिरको प्रकाश भित्र आउन नदिन झ्यालमा पर्दा लगाउनुपर्छ ।
  • कम्प्युटरमा काम गर्दा सकभर एन्टिग्लेयर चस्माको प्रयोग गर्नुपर्छ ।
  • कामका दौरान नियमित आराम लिनुपर्छ । लगातार काम गर्दा २०–२०–२० को नियम लागू गर्नुपर्छ । यसको अर्थ काम गरिरहेको हरेक २० मिनेटको समयमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने गर्नुपर्छ ।
  • आँखामा आएको थकावटलाई कम गर्न पानीले दुवै हात भिजाएर आँखीभौँ र ढकनीवरपर मालिस गर्न सकिन्छ ।
  • लामो समयसम्म स्क्रिनमा एकोहोरो हेरिरहँदा  आँखा झिम्कने दरमा एकाएक कमी आउँछ । जसले गर्दा सुक्खापन आउँछ । यसर्थ, सकेसम्म कम्प्युटरबाट ध्यान हटाई आँखा झिम्क्याउनुपर्छ ।
  • नियमित आँखाजाँच, सही हेराइको बानी, चस्माको प्रयोग र विशेषज्ञसँगको परीक्षण र परामर्शबाट कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न सकिन्छ ।