☰ open Loading... 19 April 2024|  

विश्वकपमा जो नर्भस ९९ को शिकार भए….
  | २७ जेष्ठ २०७६, सोमबार १८:५८

एजेन्सी । क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट खेलाडी तथा समर्थकका लागि निकै खास हुने गर्छ । विश्वकपको १२ औं संस्करण अहिले इंग्ल्याण्डमा जारी छ ।

विश्वकपको १४ औं खेल सकिदा प्रतिस्पर्धा निकै रोमान्चक बनिरहेको छ । कमजोर आँकिएको केहि राष्ट्रले जित निकाल्दा उपाधि दाबेदार मानिएको केहि टिम पराजित भएका छन् ।

यस संस्करणको विश्वकपमा ६ खेलाडी शतक बनाईसकेका छन् । र,प्रतियोगितामा अझै धेरै शतक बन्ने अनुमान गरिएको छ ।

विश्वकप होस या अन्य प्रतिस्पर्धा शतक प्रहार गर्नु ब्याट्सम्यानका लागि गर्वको कुरा रहन्छ । तर, कतिपय खेलाडीहरु शतक नजिक पुगेर आउट हुने गर्छन ।

कतिपय खेलाडी शतक बनाउन एक रनले चुक्दै ९९ रनमा आउट हुन्छन् । उनीहरु नर्भस ९९ को शिकार हुने गरेका छन् ।

एकदिवसीय क्रिकेटमा हालसम्म ३३ खेलाडी नर्भस ९९ को शिकार बनेका छन् । एकदिवसीयमा भारतीय लिजेण्ड सचिन तेन्दुलकर सर्वाधिक धेरै ३ पटक नर्भस ९९ को शिकार बनेका छन् ।

कतिपय खेलाडी भने विश्वकप मै नर्भस ९९ को शिकार भएका छन् । विश्वकपमा नर्भस ९९ को शिकार भएका ३ खेलाडी को को हुन् ?

१. एबी डी भिलियर्स

विश्वकपमा सधै अभागी मानिने राष्ट्र हो दक्षिण अफ्रिका । र, दक्षिण अफ्रिकाका लिजेण्ड खेलाडी हुन् – एबी डी भिलियर्स ।

एबी डी भिलियर्सले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिईसकेका छन् । इंग्ल्याण्डमा जारी विश्वकपमा डी भिलियर्स टिममा छैनन् । तर, उनि विश्वकपमा नर्भस ९९ को शिकार हुने खेलाडीमा पर्छन् ।

अष्ट्रेलियामा भएको सन् २०१५ को विश्वकपमा युएईविरुद्ध डी भिलियर्स ९९ रनमा आउट भएका थिए । उक्त विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा निराश बनेको थियो ।

युएईविरुद्ध दक्षिण अफ्रिका १८ ओभरमा ३ विकेट गुमाएर ९६ जोड्दा डी भिलियर्स र डेभिड मिलरले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासेका थिए ।

डी भिलियर्सले त्यस खेलमा ६ छक्का र ४ चौकाको मद्दतले ८२ बलमा ९९ रन जोड्दा थर्ड म्यानको हातबाट क्याच आउट भएका थिए ।

२. जेपी डुमिनी 

जेपी डुमिनीले सन् २०११ को विश्वकपमा दक्षिण अफ्रिकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा आयरल्याण्डविरुद्धको समूह चरणको खेलमा उनले उत्कृष्ट इनिङ्स खेलेका थिए ।

इंग्ल्याण्डमाथि ऐतिहासिक जित निकालेको आयरल्याण्डले उक्त विश्वकपमा दक्षिण अफ्रिकालाई समेत निकै चुनौती दिएको थियो । २७ ओभरका १ सय १७ जोड्दा दक्षिण अफ्रिकाले ५ विकेट गुमाईसकेको थियो । तर, डुमिनीले उत्कृष्ट ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई २ सय ७२ रनको स्कोरसम्म पुर्याएका थिए ।

उक्त खेलमा दक्षिण अफ्रिकाको इनिङ्स सम्हालेपनि डुमिनी ९९ रनमा आउट हुँदै नर्भस ९९ को शिकार भए ।

डुमिनी व्यक्तिगत ९९ रनमा लङ अफको दिशामा केभिन ओब्राइनको एक हाते क्याचबाट आउट हुन पुगेका थिए ।

३. एडम क्रेग गिलक्रिस्ट

सन् २००३ को विश्वकपमा ६ खेल जितेको अष्ट्रेलियाले सुपर सिक्समा श्रीलंकाविरुद्ध खेल्दै थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया टप अर्डरका ब्याट्सम्यान म्याथ्यु हेडेन सस्तैमा आउट हुँदा खराब अवस्थामा पुगेको थियो । तर, गिलक्रिस्ट र रिक्की पोण्टिङले दोस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका थिए।

उक्त खेलमा ९९ रन जोडेर ब्याटिङ गरिरहेका गिलक्रिस्ट विश्वकपको पहिलो शतक नजिक पुगेका थिए । तर, पोण्टिङको खराब आंकलनका कारण गिलक्रिस्ट रन आउट भए । उक्त रन आउटसंगै गिलक्रिस्ट विश्वकप इतिहासमा नर्भस ९९ को शिकार हुने पहिलो खेलाडी बने ।