☰ open Loading... 20 April 2024|  

कर्णालीको पानी खान बाध्य यार्सा संकलक
  | २९ जेष्ठ २०७६, बुधबार १९:४०

मुगु : जिल्लाको पूर्वी करान भेगका विभिन्न हिमाली पाटनमा पाइने यार्सा संकलन गर्न जाने हजारौं संकलकको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। उनीहरू कर्णालीको पानी खान बाध्य भएका छन।

हप्ता दश दिन बढी मुगुम कार्मारोङ गाउँपालिका २ को शिरानी चौरमा बन प्रवेशको अनुमति लिन संकलकलाई रोक्ने परम्परा छ। यसरी रोक्दा हजारौ संकलक जम्मा हुने भएकाले जथाभावी दिसा-पिसाव गर्ने, प्लाष्टि जन्य र सिसा जन्य फोहोर जताततै फाल्ने भएकाले संकलनको स्वास्थ्य जोखिममा पर्ने गरेको छ।

हरेक वर्ष संकलकहरुबाट करोडौं राजश्व संकलन हुने भए पनि संकलकका लागि अस्थायी चर्पी फोहोर व्यवस्थापन र शुद्ध खानेपानीको व्यवस्था नहुँदा समस्या भएको हो। तीनवर्ष अघि दशलाख खर्चेर खानेपानीको व्यवस्था गरिए पनि खानेपानीको उचित संरक्षण गर्न नसक्दा यस वर्ष यार्सा संकलक नदीको फोहोर पानी खान बाध्य भएका थिए।

फोहोर वातावरण र पानीकै कारण एक दर्जन बालबालिकालाई झाडा पखार र आउँ मासीले विरामी परेको मुगु गाउँकी स्थानीयवासी एवं गाउँपालिकाकी उपाध्यक्ष छिरिङ तामाङले जानकारी दिइन। वन प्रवेशका लागि रसिद काट्ने अवधि भर शिरानीचौरमा स्वास्थ्यकर्मीको टोली औषधिसहित बस्ने भए पनि उच्च हिमाली पाटनमा पुग्न नसक्ने शिरानीचौर खटिएका स्वास्थ्यकर्मी गुरुछोर्देन लामाले बताए।

शिरानीचौरमा जम्मा भई उपचार गराउन आएका मध्य अधिकाँशमा पेट दुख्ने, पखाला लाग्ने समस्या भएका व्यक्ति आउनुले पनि वातावरणीय प्रदुषण र फोहोर खानेपानी नै मुख्य कारण देखिएको लामाले बताए। संकलक बन गइसकेपछि पनि स्वास्थ्यकर्मीको टोली केही दिनसम्म शिरानीचौरमा नै बस्ने र वनबाट फर्किने अधिकांशमा पेटकै समस्या देखिने गरेको उनको भनाई छ।

यो भन्दा अगाडि यार्सा संकलकबाट लाखौ रकम उठाए पनि उनीहरूका लागि खर्च नगरिएको पाइएको मुगुम कार्मारोङ गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।

आगामी वर्षका लागि शिरानीचौरमा एक दर्जन स्थानमा शुद्ध खानेपानीका धारा, एकदर्जन बढी स्थानमा खाल्डे चर्पी, पाल हाल्ने तथा होटेल पसल गर्ने स्थानको निर्माण गर्ने योजना बनाइएको शाहीले बताए। उनका अनुसार विगतका वर्षहरूमा जस्तो आगामी वर्षमा यार्सा संकलकले शिरानी चौरमा पाल हाल्ने, खानेपानी तथा स्वास्थ्य क्षेत्रमा समस्या व्योहोर्ने छैनन।