☰ open Loading... 19 April 2024|  

वामगाउँलाई स्याउको पर्यटकीय हब बनाइँदै: पाहुनालाई निःशुल्क स्याउ
  | ३० जेष्ठ २०७६, बिहीबार १५:४०

जिल्लाको छायानाथ–रारा नगरपालिका– १४ को वामगाउँलाई स्याउको पर्यटकीय हब बनाइने भएको छ । जिल्लाकै उत्कृष्ट र गुणस्तरीय स्याउ फल्ने यस गाउँलाई यसै वर्षदेखि स्याउ पर्यटकीय गाउँ बनाइने वडा कार्यालयले निर्णय गरेको छ ।  वडा कार्यालयले ‘वाम जाऊँ निःशुल्क स्याउ खाऊँ’ भन्ने नारासमेत तय गरेको छ । अब वामगाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउकै बगैँचामा गएर निःशुल्क स्याउ खान पाउने छायानाथ–रारा नगरपालिका– १४ का वडाध्यक्ष नन्दलाल बडुवालले जनाए । गाउँमा आउने पाहुनालाई स्याउको बगैँचामा घुमाउने र बगैँचामै रोजेर चाहेजति स्याउ खान दिने निर्णयसमेत गरिएको उनले बताए ।

वडा नम्बर १४ का वाम, फोइपाटा, दर्खेलवाडा, डाँडागाउँलगायतका बस्तीमा अत्याधिक स्याउ फल्ने गरेको छ । भदौदेखि चैतसम्म स्याउ प्रशस्त पाइने हुँदा भदौ असोजका वेला एक किलो स्याउको ३० रुपैयाँ पर्ने स्थानीयको भनाइ छ ।  ‘यहाँ फल्ने विभिन्न जातका स्याउलाई देशैभरि प्रचारप्रसार गर्न खोजेका छौँ,’ अध्यक्ष बडुवालले भने, ‘पर्यटकीय आर्कषकका लागि स्याउ उपहारको व्यवस्थासमेत गरेका हौँ ।’

एक घर एक बगैँचा
वडा नम्बर १४ का गाउँहरूमा एक घर एक स्याउ बगैंचाको अवधारणा ल्याइएको छ । गत वर्ष नै यस्तो निर्णय गरिएको हो । वडाका वाम, फोइपाटा, दर्खेलबाडा र डाडागाउँमा बसोवास गर्ने हरेक घरले अनिवार्य एउटा स्याउको बगैँचा बनाउनै पर्ने अनिवार्य गरिएको वडाध्यक्ष नन्दलाल बडुवालले जनाए ।  सोही अवधारणा लागू गर्न गत वर्ष वामगाउँका तीन सय ३८ घरधुरीका लागि आठ हजार स्याउका बिरुवा वडा कार्यालयबाट वितरण गरिएको उनले बताए । यो वर्ष थप त्यति नै संख्यामा स्याउका बिरुवा वितरण गरिने उनको भनाइ छ ।

वामका हरेक घरले स्याउ बेचेर ३० देखि ४० हजार बर्सेनि कमाउने गरे पनि नजिक बजार नहुँदा स्याउखेतीबाट राम्रो आम्दानी गर्न नसकेको  स्थानीय ६५ वर्षीय कन्नवीर बडुवालले बताए । ‘०३२ सालदेखि  यो गाउँमा स्याउ फल्ने गरेको छ,’ उनले भने, ‘टाढाको बजार भएकाले  व्यावसायिक स्याउ खेती हुन सकेको छैन ।’

सडकले सहज हुने आशा
ग्रामीण पहुँच कार्यक्रमको मुगु–हुम्ला जोड्ने सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । यो सडकसँग १४ नम्बर वडाका सबै गाउँ जोडिएका छन् । आउने दसैँसम्म यस सडकमा गाडी चलाउने लक्ष्य राखिएको छ । गाडी चलेसँगै वामगाउँको स्याउ किनबेचमा समेत सहजता हुने स्थानीय बताउँछन् ।

नयाँपत्रिकाबाट