☰ open Loading... 20 April 2024|  

फिरन्ते जाती राउटे समुदायलाई सरकारले नागरिकता दिने
  | २ असार २०७६, सोमबार १९:३२

सुर्खेत । जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो।

सोमबार सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. मानबहादुर विकेले दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिइने बताए।

अघिल्लो वर्ष राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। ‘सामाजिक सुरक्षा भत्ता वितरणका साथै अन्य सरकारी कामकाजमा पनि सहजता हुने भएकाले नागरिकता वितरण गर्ने निर्णय गरिएको हो’ सचिव डा. विकेले भने, ‘राउटेसँग काम गरिरहेका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा यसलाई अघि बढाउँछौं।’

राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन्। ‘जहाँबाट परिचयपत्र लिएका हुन्, त्यहीँको ठेगाना राखेर नागरिकता दिने प्रक्रिया सुरु गरिएको हो’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्तोलाले भने, ‘प्रक्रिया पु¥याएर बस्तीमै नागरिकता वितरण गर्न जान्छौं।’

गुराँस गाउँपालिका–८ को गर्चाखोला स्थायी ठेगाना राखेर गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। राउटे समुदाय अहिले गुराँस गाउँपालिका–५ को कान्छीबजारमा बसेका छन्। राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र ९सोसेक० का अनुसार राउटे समुदायको जनसंख्या १४६ छ। ती मध्ये ६० वर्षमाथिका २५ जना छन् भने ६४ जना बालबालिका छन्।