☰ open Loading... 18 April 2024|  

‘मेरो लागि बालोन डि’ओर अवार्डभन्दा महत्वपूर्ण अरु नै छ’
  | ७ असार २०७६, शनिबार १८:४५

काठमाडौं। किलियन एम्बाप्पेलाई यस वर्षको बालोन डिओर अवार्डको लागि बलियो दावेदार मानिएको छ तर यी फ्रेन्च स्टार भने बालोन डिओरभन्दा महत्वपूर्ण कुरा अरु नै मान्छन् । इएसपिएनसँगको एक अन्तरवार्तामा उनले व्यक्तिगत रुपमा फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड जित्नुभन्दा आफ्नो टिमको साथमा च्याम्पियन्स लिगको उपाधि जित्नु आफ्नो प्राथमिकतामा रहने बताए ।

२० वर्षको उमेरमा यी स्टारले यति धेरै सफलता हासिल गरिसकेका छन् जति सफलता एक खेलाडीले पूरै करिअरमा समेत हासिल गर्न कठिन हुन्छ । उनीसँग विश्वकप विजेताको मेडल छ र ३ लिग वन उपाधि छन् । सिनियर खेलाडीको रुपमा मात्रै ३ सिजन खेलेका उनले ८७ गोल गरिसकेका छन् । उनलाई ठूलो मूल्यमा रियल मड्रिडले अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । आफू जहाँ भए पनि आफ्नो मुख्य प्राथमिकता सिंगो टिमको साथमा ठूलो उपलब्धी हासिल गर्नु हुने उनले प्रस्ट पारे ।

अन्तरवार्तामा बालोन डिओर जित्नु वा च्याम्पियन्स लिग जित्नुमध्ये कुन उनको प्राथमिकतामा पर्छ भनेर सोधिएको थियो । जवाफमा उनले भने ‘सबैभन्दा महत्वपूर्ण च्याम्पियन्स लिग जित्नु हुन्छ । तपाइँले बालोन डिओर जित्नुहुन्छ तर इतिहासमा नरहन सक्नुहुन्छ । तपाइँ अन्य १० खेलाडीसँग खेल्नुहुन्छ । तपाइँ एक्लै खेल्नुहुन्न । यदि यो टेनिस भएको भए मैले बालोन डिओर रोज्थें होला किनकि टेनिसमा तपाइँ एक्लै खेल्नुहुन्छ । तर फुटबल टिमसँग खेलिने खेल हो र मलाई लाग्छ यदि तपाइँ बालोन डिओर जित्न चाहनुहुन्छ भने तपाइँले च्याम्पियन्स लिग जित्नुपर्छ ।’

उनलाई सबैभन्दा मन पर्ने सर्वकालिन फुटबलरको बारेमा सोध्दा उनले भने ‘यो निकै कठिन छ किनकि अहिलेको फुटबल २० वर्ष अगाडिको भन्दा निकै फरक छ । मैले पेले भन्न सक्छु तर उनी १९५० को दशकमा खेलेका थिए । अहिलेको सन्दर्भमा भन्ने हो भने क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, डिएको म्याराडोना, जिनेदिन जिदान । धेरै खेलाडीहरु राम्रो खेलेका छन् र यदि तपाइँले १ जना रोज्नुभयो भने तपाइँले बाँकी ती सबै खेलाडीलाई बिर्सनुहुन्छ जसको महान करिअर छ ।’

उनलाई एक जना मात्र रोज्न फेरि भनिएपछि उनले भने ‘संयुक्त रुपमा १० बालोन डिओर अवार्ड जितेका ती दुई (रोनाल्डो र मेस्सी)मध्ये एक रोज्न सम्भव नै छैन ।’ उनले अगाडि भने ‘रोनाल्डो, मेस्सी, जिदान, रोनाल्डिन्हो । यी ती नामहरु हुन् जसले इतिहास बनाएका छन् र कहिल्यै बिर्सिइने छैनन् ।’ एम्बाप्पेले आफ्नो नाम पनि यो सूचीमा थप्ने अपेक्षा गरेका छन् । तर, यहाँ पुग्नको लागि मैदानमा कुनै स्वार्थी काम नगर्ने बताए ।