☰ open Loading... 19 April 2024|  

लिफ्ट प्रविधिले हटायो खानेपानीको दुःख
  | ९ असार २०७६, सोमबार २०:५१

सल्यान : कुमाख गाउँपालिका वडा न ५ नेटाकी ६० वर्षिया खली दमाई घरनजिकै पानी भर्न पाउँदा दंग छिन्। यसअघि १ घण्टाको पैदल हिँडेर पानी बोक्ने गरेकी दमाईं घरनजिकै पानी भर्न पाउँदा मख्ख परेकी हुन्। घरनजिकै बनेको धाराबाट पानी बोक्दा उनलाई पानी बोक्न सजिलो त भएको छ नै अन्य कामकाज गर्न सहज भएको छ।

५५ वर्षिया वाली बुढाथोकी पनि घरनजिकैबाट पानी बोक्दा दंग छन् नै त्योभन्दा ओरालोमा मात्र पानी बग्न देखेकी उनले उकालोमा पानी आएको देखेर अचम्मित पनि भएकी छन्। गाउँको लामजुलेबाट  गाउँसम्म लिफ्ट प्रविधिबाट पानी तानेर पानी खाँदा आफूहरु अचम्ममा परेको उनले बताइन।

गाउँनजिकै पानीका मुहान छैनन् बुढाथोकीले बताइन् तलको पानी माथि आउने हामीले सोचेका थिएनौं आज बुढेसकालमा देख्न पाइयो। उनले भनिन गाउँमा पानी आएपछि वषौं देखि कम्मरमा बाँधेको पटुकी सुक्न पाएको छ। बस्तीभन्दा निकै तल रहेको पानी गाउँसम्म पुगेपछि दमाई र बुढाथोकी मात्र होइन नेटाका ५० घरधुरी खुशी भएका छन्।

लामजुले नेटा लिफ्ट खानेपानी योजना समितिले लिफ्ट प्रविधिबाट तीन सय ३० मिटर तलको पानी गाउँमा उकालेपछि त्यस क्षेत्रको वषौंदेखिको खानेपानीको चाहाना पूरा भएको छ। गाउँमै खानीपानी पुगेपछि कुवाको धमिलो पानी खानबाट मुक्ती पाएको भूपि बस्नेतले बताइन। उनले भनिन पानी बोकेरै जीवन जान्छ की जस्तो लागेको थियो, विवाह भएर आएदेखि कहिलै पिठ्यु र कम्मर सुख पाएको थिइन तर आजभोलि भने सुख पायो खुशी लागि रहेको छ। कुमाख गाउँपालिकाको २५ लाख र श्रमदान ३ लाख गरी २८ लाखको लागतमा लिफ्ट खानेपानी योजना निमार्ण गरिएको समितिका अध्यक्ष लालसिहं बस्नेतले बताए। टोल मिलाएर १२ वटा धारा र केही  टाढा भएका घरमा भने घरमै धारा जडान गरिएको उनले बताए।

आधारभूत आवश्यकताको रूपमा रहेको खानेपानीलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन। गाउँपालिका कै प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई निवारण गर्न गुरुयोजना बनाई अघि बढ्ने काम भई रहेको उनको भनाई रहेको छ।