☰ open Loading... 19 April 2024|  

जिल्ला अस्पतालमा खानेपानीको समस्या
  | ९ असार २०७६, सोमबार २१:०२

पश्चिमी रुकुम, पश्चिमी रुकुमको जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ । अस्पताल आउने खानेपानीको मुहानमै कम भएपछि अभाव सिर्जना भएको हो ।

अस्पतालमा खानेपानीको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामी कुरुवालाई पनि समस्या भएको अस्पतालका प्रमुख डा. महेश चौलागाईंले बताए । ‘एकाएक खानेपानीको अभाव भएपछि सबैलाई समस्या भएको छ,’ डा. चौलागाईंले भने ।
गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको मात्रा घटेको उनले बताए । त्यही पानी पनि नियमित रूपमा आउने गरेको छैन । बिरामी आफँैले बजारबाट किनेर लग्ने गरेका छन् । उनीहरूका आफन्त पनि किनेर प्रयोग गर्न थालेका छन् । पानीको समस्याले शौचालय प्रयोग तथा अस्पतालका विभिन्न सामग्री र कपडा सफा गर्न पनि समस्या भएको छ ।

जिल्ला अस्पतामा दैनिक करिब १५ हजार लिटर पानी आवश्यक पर्छ । तर, अस्पतालमा करिब पाँच हजार लिटर क्षमताको मात्र ट्यांकी छ । रातभर पानी जम्मा गरेर दिउँसो प्रयोग गर्दै आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुन्दर ओलीले बताए ।

पानीको समस्या कम गर्न पहल
अस्पतालमा देखिएको खानेपानीको समस्या हल गर्न पहल भइरहेको अध्यक्ष ओलीले बताए । खानेपानीको मुहानको सफाइदेखि पानीको चुहावट रोक्ने र पानीको प्रयोगमा मितव्ययिता अपनाउने प्रयास भइरहेको उनको भनाइ छ । हरेक गर्मीयाममा खानेपानीको समस्या हुने गरेको छ ।