☰ open Loading... 19 April 2024|  

लोकसेवा विज्ञापन, समावेशीतर्फ पनि उल्लेख्य आवेदन
  | १८ असार २०७६, बुधबार ०८:५९

काठमाडौं ।  लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा समावेशी कोटातर्फ पनि उल्लेख्य मात्रामा आवेदन दर्ता भएको पाइएको छ । लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनको आवेदन दर्ता गर्ने समयावधि मंगलबारबाट सम्पन्न भएको छ । यस अवधिमा खुलाका साथै समावेशी समूहअन्तर्गतका महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांग तथा पिछडिएका क्षेत्रअन्तर्गतका समावेशी समूहमा उल्लेख्य मात्रामा आवेदन दर्ता भएको लोकसेवा आयोगले जनाएको छ ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै विरोध भइरहँदा आयोगले भने समावेशी कोटामा पनि उल्लेख्य दर्खास्त परेको स्पष्ट पारेको हो ।
आवेदन दिनेमा मधेसी समुदायको सहभागिता पनि उल्लेख्य रहेको पाइएको छ । आयोगको तथ्यांकअनुसार सोमबारसम्ममा आवेदन दर्ता भएका कुल आवेदनमध्ये १ लाख २ हजार २३६ को संख्यामा मधेसी समुदायको आवेदन परेको छ ।

आयोगका अनुसार यसरी मधेसी समुदायबाट आवेदन दर्ता भएकामा खुलातर्फ ७८ हजार ३१९ र समावेशी समूहअन्तर्गत २३ हजार ९१७ रहेको छ ।
समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरिएको भन्दै विज्ञापन रद्द गर्न माग गर्नेमा मधेसी समुदायका विद्यार्थी संगठन, राजनीतिक दल तथा सांसद बढी रहेका थिए । तर, आवेदनको संख्या हेर्दा तराईका स्थानीय तहमा मधेसी समुदायकै बाहुल्यता रहेको देखिन्छ । आयोगका अनुसार दरखास्त दिनेमा उल्लेख्य संख्यामा मधेसी रहने भएकाले परीक्षामा पनि उनीहरू नै बढी उत्तीर्ण हुने सम्भावना छ ।

को कति ?

मधेसी –१ लाख २ दुई २३६
महिला–२ लाख ९४ हजार ५८०
जनजाति– १ लाख ३६ हजार १५३
दलित–२१ हजार २२८

तराईका विभिन्न जिल्लाका मधेसी समुदायले देशभरका विभिन्न स्थानबाट आवेदन दर्ता गराएका छन् । प्रदेश २ अन्तर्गत जनकपुर केन्द्रबाट मात्रै ५६ हजार ४८३ जना मधेसी समुदायका युवायुवतीले दरखास्त दिएका छन् । । यसैगरी केन्द्रको कमलपोखरी केन्द्रबाट ३ हजार १३०, धौलागिरि अञ्चल कार्यालय बाग्लुङबाट २३७, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाबाट ६ हजार १८०, सुदूर पश्चिम क्षेत्रीय निर्देशनालय डोटीबाट ५७६ कर्णाली अञ्चल कार्यालय जुम्लाबाट २०२, लुम्बिनी अञ्चल कार्यालय, बुटवलबाट ३ हजार ७ सय ९४, महाकाली अञ्चल कार्यालय, कञ्चनपुरबाट ३७० जना मधेसी समुदायले दरखास्त दिएका छन् ।

सम्मानित सर्वोच्च अदालतबाट परीक्षा रोक्ने सम्बन्धमा कुनै पनि आदेश नभएको कारणले आयोग आफ्नो नियमित प्रक्रियामा अगाडि बढ्छ । आयोगले यसभन्दा अघि स्वीकृत गरेको कार्यतालिकालाई कार्यान्वयन गर्दै सबै किसिमका परीक्षा सम्पन्न गरी तोकिएकै समयमा कर्मचारी छनोट कार्य सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएको छ ।

किरण राज शर्मा
प्रवक्ता लोकसेवा आयोग

यसैगरी मेची अञ्चल कार्यालय, इलामबाट ६९७, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतबाट ७३४, नारायणी अञ्चल कार्यालय मकवानपुरबाट १ हजार ४६७, राप्ती अञ्चल कार्यालय, दाङबाट २ हजार ६९६, सगरमाथा अञ्चल कार्यालय खोटाङबाट ६०८ र पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखराबाट १ हजार १४४ को संख्यामा आवेदन दर्ता भएको आयोगले जनाएको छ ।
त्यस्तै, जनजातितर्फका समूहबाट समावेशी तथा खुलामा गरी १ लाख ३६ हजार १५३, दलित समुदायका तर्फबाट खुला र समावेशी गरी २१ हजार २२८ जनाको आवेदन दर्ता भएको छ ।

प्रदेश २ सरकारले केन्द्रबाट कर्मचारी भर्ना नगर्ने भन्दै विरोध जनाएको भए तापनि प्रदेश सरकार आफंैले केन्द्रले आह्वान गरेको लोकसेवा तयारी कक्षा सञ्चालन गरी आयोगको तयारी गराइरहेको पाइएको छ ।
यस क्रममा मंगलबार ५ बजेसम्ममा ४ लाख ४० हजार १६३ को संख्यामा आवेदन दर्ता भएको जनाइएको छ । हालसम्म १४ करोड ४ लाख ११ हजार १५० रुपैयाँ राजस्व संकलन भएको आयोगले जनाएको छ ।

राजधानीबाट