☰ open Loading... 4 June 2020|   बिहिबार, जेष्ठ २२, २०७७

कारागारमा झाडापखालाको प्रकोप

  |

जाजरकोट कारागारमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाले कैदीबन्दी, कर्मचारी तथा सुरक्षाकर्मी बिरामी पर्न थालेका छन् । दूषित पानीका कारण कारागारमा पखालाको संक्रमण देखिएको हो । मंगलबारदेखि सुरु भएको झाडापखालाबाट बुधबार दिउँसोसम्म सात सुरक्षाकर्मी, १२ कैदीबन्दी र केही कर्मचारी बिरामी परेका कारागारका जेलर तेजविक्रम शाहले जानकारी दिए ।

झाडापखालाका बिरामीको खलंगास्थित जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । कारागारसँगै आसपासका क्षेत्रमासमेत झाडा पखालाको समस्या देखिएको छ । जाजरकोट अस्पतालमा अचेल दैनिक ४० भन्दा बढी झाडा पखालाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको संख्या बढी हुँदा अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

सदरमुकाममा वितरित पानी दूषित
सदरमुकाम खलंगामा बृहत् खानेपानी आयोजना सञ्चालनमा आएपछि झाडा पखालाका बिरामी बढेका जाजरकोट अस्पतालका डाक्टर केशर कार्कीले बताए । जाजरकोटमा भर्खरै निर्माण सम्पन्न भएको बृहत् खोपानी आयोजना र पुरानो आयोजनाबाट पानी वितरण हुँदै आएको छ । ‘दुवै योजनाको पानी प्रयोग गर्ने बिरामीको अलग–अलग जाँच गरेका छौँ,’ डाक्टर कार्कीले भने, ‘बिरामीको स्वास्थ्य परीक्षण र पानीको जाँच गर्ने काम भएको छ, ७२ घण्टापछि रिपोर्ट आउँछ । त्यसपछि मात्रै झाडा पखाला फैलिनुको खास कारण पत्ता लाग्नेछ ।’ प्रारम्भिक परीक्षणले पानी दूषित हुँदा नै झाडापखाला फैलिएको कार्कीले बताए ।

अस्पतालमा औषधि अभाव
अस्पतालमा झाडापखालाका बिरामीलाई दिइने औषधिसमेत सकिँदै गएको छ । बिरामीको संख्या बढेकाले औषधि सकिँदै गएको डाक्टर कार्कीले बताए । ‘बिरामीको संख्या यस्तै कायम रहने हो भने अबको पाँच दिनपछि अस्पतालमा औषधिको समेत अभाव हुनेछ,’ कार्कीले भने ।स्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा खरिद गर्नुपर्ने औषधि अझैसम्म खरिद नगर्दा अस्पतालमा औषधि अभाव भएको हो ।

अस्पतालमा अप्रेसन गर्ने औजारदेखि अन्य औषधिको समेत अभाव रहेको चिकित्सकले बताएका छन् । सदरमुकाम खलंगा क्षेत्रमा वितरित पानी परीक्षण नै नभएको खुलासा भएको छ । मुलबाट आएको पानी सीधै ट्यांकीमा हालेर स्थानीयका धारामा पठाउने गरिएको स्थानीयले बताएका छन् ।

नयाँपत्रिकाबाट

प्रकाशित मितिः आइतवार, असार २२, २०७६     4:33:05 PM
error: Content is protected !!