☰ open Loading... 20 April 2024|  

सर्पले डस्दा किशोरीको मृत्यु, विषालु च्याउ खाँदा आमा-छोरी बेहोस
  | २४ असार २०७६, मंगलवार १६:१२

दैलेख : सर्पको टोकाइबाट दैलेखमा एक किशोरीको मृत्यृ भएको छ। मृत्यृ हुनेमा दैलेखको महावु गाउँपालिका ५ की १६ वर्षीया टीका शाही रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सदरमुकाम दैलेख बजार वडा नं. १ जिल्ला प्रशासन कार्यालय नजिक भाडाको घरमा सुतिरहेको अवस्थामा गए राति ३ बजे तिर शाहीको कानमा सर्पले टोकेको थियो। उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको र त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि सुर्खेतमा पुर्‍याइएको थियो।

उपचारको क्रममा मंगलबार दिउँसो सुर्खेतमा मृत्यु भएको उनका आफन्त धीरबहादुर शाहीले बताए। जिल्ला अस्पताल दैलेखले रिफरको कागज नपठाएको भन्दै सुर्खेतमा उपचार ढिलो भएपछि हेलचक्राइका कारण किशोरीको ज्यान गएको शाहीले गुनासो गरे।

बिषालु च्याउ खाँदा आमा-छोरी बेहोस  

जिल्लाको नौमूले गउँपालिका ५ सालकोटमा विषालु च्याउ खाँदा आमाछोरी बेहोस भएका छन्। मंगलबार बिहानको ८ बजेतिर बिषालु च्याउ खाएकी ७० वर्षीया पविसरा मर्गनी र उनकी छोरी ३६ वर्षीया पवित्रा आले मगर बेहोस भएका हुन्।

उनीहरूको उपचार जिल्ला अस्पताल दैलेखमा सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको जिल्ला अस्पताल दैलेखका डा. निरञ्जन पन्तले बताए। उनीहरूले रुखमा निस्किएको च्याउ खाएपछि बेहोस भएको आफ्न्तले बताएका छन्।