☰ open Loading... 15 November 2019|   शनिबार, कार्तिक ३०, २०७६

डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारू

  |

डोल्पा : हिमाली जिल्ला डोल्पामा छ महिनापछि विद्युत सेवा सुचारु भएको छ। ठुलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको जैरीगाढ जलविद्युत आयोजना अवरुद्ध भएको करिब छ महिनापछि सुचारु भएको हो। लामो समयदेखि अवरुद्ध जलविद्युत आयोजना सोमबारदेखि सुचारु भएपछि सर्वसाधारण खुशी भएकाछन्।

विद्युतको नहरमा गत फागुनमा करिब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युतसेवा बन्द भएको थियो। नेपाल विद्युत प्राधिकरणको ५५ लाख लागतमा भत्केको नहर मर्मत गरी विद्युत सेवा सुचारु गरिएको इन्जिनियर बादल बुढामगरले जानकारी दिए। विद्युत नहुँदा लामो सयमसम्म अन्धकार खेप्नबाध्य सदरमुकाम दुनै, जुफाल लगायतका गाउँबस्तीका सर्वसाधारण बत्ती बलेसँगै खुशी भएका हुन्। भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत सेवा सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ।

विद्युत खपत बढदै गएकाले लोडसेडिङ जारी हुने वितरण केन्द्रको भनाइ छ। बलियो भूगोल नभएका कारण पटक–पटक विद्युतसेवा अवरुद्ध हुँदै आएकाले अझै पनि दिगो रुपमा विद्युत सेवा सञ्चालनमा आउने कुरामा ढुक्क नभएको सदरमुकामबासीले बताए। जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरीले विद्युत सेवा लिएका छन्। विद्युत सेवा सुचारु भएपछि सरकारी तथा गैह्र सरकारी कार्यालयबाट दैनिक हुने विद्युतीय कामकाज गर्न सहज भएको छ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     2:15:43 PM
error: Content is protected !!