☰ open Loading... 29 March 2024|  

संघ र प्रदेशले बजेट नदिँदा स्थानीय सरकार ऋणमा
  | २ श्रावण २०७६, बिहीबार १८:४३

रुकुम (पश्चिम), आठबीसकोट नगरपालिका–१० को मानचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सर्जन कामी योजना सम्पन्न भएपछि भुक्तानीका लागि नगरपालिकामा पुगे । असार अन्तिम साता नगरपालिका कार्यालय पुगेका उनी रित्तो हात फर्किए ।  अहिले नगरपालिकाले योजनाको भुक्तानी दिन नसक्ने बताएपछि चिन्तित बनेको उनले बताए । ‘नगरपालिकाबाट भुक्तानी लिएर योजनाको ऋण तिरौँला भन्ने सोचको थिएँ, पैसा मिलेन,’ अध्यक्ष कामीले भने ।

त्यस्तै, कृषि परियोजनाको भवन निर्माण गरेको उपभोक्ता समितिले पनि भुक्तानी पाएको छैन । समितिका सचिव अमृत बोहराले नगरपालिकाले भुक्तानी नदिँदा समस्या परेको बताए । ‘मोटरसाइकल, एकजाभेटरलगायत खरिदमा पैसा सकेँ । अहिले सम्पन्न भएका योजनको भुक्तानी गर्न रकम छैन,’ उनले भने ।संघीय र प्रदेश सरकारले दिने भनिएको राजस्व बाँडफाँड शीर्षकको सबै बजेट नदिँदा समस्या भएको नगरपालिकाले जनाएको छ । जसले गर्दा गत आर्थिक वर्षमा एक करोड ७३ लाख रकम अपुग भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘संघ र प्रदेशले बजेट नदिँदा ८९ वटा योजनाका फाइल दराजमा थन्क्याउनु परेको छ । भुक्तानी दिन सकिएको छैन,’ केसीले भने ।

उनका अनुसार संघले गत वर्ष राजस्व बाँडफाँड शीर्षकमा १० करोड सात लाख २४ हजार दिने भनेको थियो । तर, आठ करोड २४ लाख मात्रै प्राप्त भएको उनले बताए । त्यस्तै, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडबापत दिने भनेको चार लाख २६ हजार दिएको छैन । ‘निर्माण सम्पन्न भएका योजनाको भुक्तानी दिन सकिएको छैन, उपभोक्ता समितिको ऋणी भएका छौँ,’ उनले भने ।

संघ र प्रदेश सरकारले भनेअनुसारको रकम नदिँदा समस्या भएको मेयर गोरखबहादुर केसीले बताए । ‘संघीय र प्रदेश सरकारले धोका दियो,’ मेयर केसीले भने ।
कर्मचारी र जनप्रतिनिधिले तलब पाएनन्  संघ र प्रदेश सरकारले तोकिए अनुसारको बजेट नदिँदा कर्मचारी र जनप्रतिनिधिले तलब पाएका छैनन्् । नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारीले दुई महिनादेखि तलब खान नपाएको जनाएको छ । त्यस्तै, जनप्रतिनिधिले तीन महिनायताको सेवा, सुविधा पाएका छैनन् ।