☰ open Loading... 29 March 2024|  

प्रविधि मैत्री बन्दै मुसिकाेटकाे ९ नं वडा
  | २ श्रावण २०७६, बिहीबार १८:४६

रुकुम पश्चिम, मुसीकोट नगरपालिका ९ ले वडा कार्यालयसहित विद्यालय र स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयहरुलाई प्रविधि मैत्री बनाउन लागेको छ । आर्थिक वर्ष २०७६/०७७ को सुरुवातसँगै वडाले आफ्नो कार्यालय, चार विद्यालय तथा स्वास्थ्य चौकीलाई प्रविधि मैत्री बनाउने पहल सुरु गरेको हो । कामकाजलाई सजिलो, व्यबस्थित, पारदर्शी र नियमित बनाउने उदेश्यले कामकाजमा प्रविधिको प्रयोगलाई बढाउन लागिएको वडाध्यक्ष नविन ओलीले बताए । जसअनुसार वडाले डिजिटल हाजिरी, कम्प्युटर, प्रिन्टर, इन्टरनेट, सोलार, पेनड्राइभ लगायतका सामग्रीहरुको व्यवस्था गरेको छ ।

विशेषगरी वडा भित्रका विद्यालयहरुमा प्रविधिको प्रयोगबाट पठन पाठन गराई शिक्षाको गुणस्तर विकास गर्ने र विद्यार्थी तथा शिक्षकहरुलाई प्रविधिमा अभ्यस्त गराउने उदेह्यले रहेको उनले बताए । जसअनुसार जनशिक्षा आधारभुत विद्यालय चौखावाङ, कृष्ण आधारभुत विद्यालय लिउडाँडा, सुर्याेदय आधारभुत विद्यालय होललाई एक÷एक थान डिजिटल हाजिरी, एक÷एक थान कम्प्युटर, एक÷एक थान प्रिन्टर, पेनड्राइभ र एक÷एक थान सोलार उपलब्ध गराइएको अध्यक्ष ओलीले बताए । त्यस्तै जुवाला आधारभुत विद्यालय हिलमा कम्पूटर पहिलेदेखिनै भएकाले एक थान प्रिन्टर, एक थान डिजिटल हाजिरी, एक थान राउटर, एक थान स्पिकर र पेनड्राइभ उपलब्ध गराएको छ ।

त्यस्तै वडा कार्यालय र स्वास्थ्य चौकी होलतारामा डिजिटल हाजिरी र राउटरको व्यवस्था गरिएको छ । वडा र स्वास्थ्य चौकीमा पनि यस अघि नै कम्प्युटर लगायतका सामग्री जडान गरिसकिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

‘कम्प्युटर नै नदेखेका विद्यालयमा कम्प्युटर, इन्टरनेट, डिजिटल हाजिरी लगायतका सामग्री जडान गरेका छौं,’ वडाध्यक्ष ओलीले भने, ‘कम्प्युटर र इन्टरनेटको प्रयोगबाट पठन पाठनमा सहज हुने साथै डिजिटल हाजिरी जडान गरिएका कारण शिक्षक तथा कर्मचारीहरु जिम्मेवार रहने विश्वास लिएको छु ।’

साथै वडा कार्यालय र स्वास्थ्य चौकीमा डिजिटल हाजिरीको व्यवस्था गरेपछि कर्मचारी र स्वास्थ्यकर्मीलाई काम प्रति जिम्मेवार बनाएको उनले बताए । डिजिटल हाजिरीले समय भन्दा ढिलो कार्यालय उपस्थित हुने र कार्यालय समय अगाडि नै कार्यालय छाड्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ ।

प्रविधिको प्रयोगबाट हुने काम बढी प्रभावकारी हुने र कम श्रम मै धेरै काम गर्न सकिने भएकाले वडालाई हरेक पक्षबाट प्रविधि संग जोड्न खोजेको वडाध्यक्ष ओली बताउँछन् ।

नयाँपत्रिकाबाट