☰ open Loading... 6 December 2019|   शुक्रबार, मंसिर २०, २०७६

मन्त्रीलाइ नै साझा पार्टीले दियाे काेट उपहार

  |

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई साझा पार्टी कर्णाली प्रदेशले कोट उपहार दिएको छ । दलित तथा विपन्नहरुलाई सिलाई–कटाई तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वीकय सचिवले कोट सिलाएको विरोधमा मन्त्री रावललाई साझा पार्टीले कोट उपाहार दिएको हो ।

घरेलु तथा साना साना उद्योग विकास समितिमार्फत दलित तथा विपन्नका लागि सिलाई–कटाई तालिम दिनका लागि छुट्याइएको बजेटबाट प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सामाजिक विकास मन्त्री दल रावलका स्वीकय सचिव नन्दबहादुर रोकायसहित ११ जनाले कोट सिलाएका थिए ।

‘दलित तथा विपन्न समुदायका व्यक्तिहरुको क्षमता विकास तालिमको बजेटबाट प्रमुख जिल्ला अधिकारी, मन्त्रीका स्वकीय सचिवसहितका व्यक्तिहरुले कोट सिलाउनु दुर्भाग्यपूर्ण भएको साझा पार्टीले सामाजिक विकास मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले विपन्न र गरिव जनताका लागि सीप सिकाउने कार्यक्रमबाट जिल्लाका हाकिम र मन्त्रीका स्वकीयले कोट सिलाएको विरोधमा जिन्सको रेडिमेट कोट उपहार दिइएको बताए । केही समयअघि साझा पार्टीले विकासलाई दिने अनुदानको रकम काटेर ५२ वटा गाडी खरिद गरेको विरोधमा खेलौना कार उपहार दिएको थियो ।

प्रदेश राजधानीमा रहेको खानेपानी अभाव पूर्ति गर्न, युवाहरुलाई स्वरोजगार बनाउन, डिजिटल कर्णालीको अवधारणालाई मूर्तरुप दिन, प्रदेश अस्पताललाई सुविधा–सम्पन्न बनाउन समेत ज्ञापन पत्रमा माग गरिएको छ ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     8:32:30 PM
error: Content is protected !!