☰ open Loading... 19 April 2024|  

कांग्रेस बैठक महाधिवेशन केन्द्रित
  | १० श्रावण २०७६, शुक्रबार १६:१८

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनबारे औपचारिक छलफल सुरु गरेको छ ।
२२ असारबाट सुरु बैठकमा पार्टीको नियमावलीका विषयमा मात्रै बैठक केन्द्रित रहिरहेका बेला बिहीबारबाट बैठकमा महाधिवेशनको विषयसमेत प्रवेश गरेको हो । बर्सात्का कारण केही दिन स्थगित बैठक बिहीबारबाट मात्रै सुरु भएको हो ।

बैठकमा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषयमा औपचारिक छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

कांग्रेसले जारी बैठकको एजेन्डाका रूपमा नै १४ महाधिवेशनको विषय राखेको छ । सो विषयलाई महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेस गरेका थिए ।
बिहीबार सोही प्रस्तावमाथि उपसभापति विजयकुमार गच्छदार र नेता महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले धारणा राखेका थिए ।
बैठकले यसअघि पार्टीको नियमावलीलाई सहमतिमा परिमार्जन गर्ने गरी पारित गरिसकेको छ । तर, पनि केही बुँदाहरूमा नेताहरूको असहमति देखिँदै आएको छ । बैठक शुक्रबार बस्ने बताइएको छ ।