☰ open Loading... 19 April 2024|  

कर्णाली राजमार्गको बाधक साना खोला
  | १५ श्रावण २०७६, बुधबार १२:३९

बर्खा लागेपछि कर्णाली राजमार्ग अवरुद्ध हुनुमा सडक क्षेत्रमा पर्ने साना खोला प्रमुख कारण बन्ने गरेका छन् । कर्णाली राजमार्गको दैलेखमा रहेका घट्टेखोला, कालिकोटमा रहेका दैखोला, एसमोड, सेरीघाट खोला, सुनारखोला, बिहानी खोला, गगनेखोला, कालेखोला र खल्लागाड खोलाले सधैँ अवरोध गर्ने गरेको यातायात व्यवसायी बताउँछन् ।सानो पानी पर्नासाथ यी खोलामा कहिले बाढी आउने त कहिले पहिरो जाने भएकाले यातायातका साधन अवरुद्ध हुने गरेको यातायात व्यवसायी हस्तबहादुर बमले बताए ।

सडक क्षेत्रमा पर्ने साना खोलाले दैनिकजसो यातायातका साधनलाई अवरोध गर्ने गरेको बमको भनाइ छ । यातायातका साधन अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । कालिकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पानी पर्नासाथ पहिरो जाने गरेको छ भने कालेखोला, खाँडाचक्र नगरपालिका–२ को सुनारखोलामा पानी पर्दा साथ हिलो हुने भएका कारण सवारीसाधन चल्न सक्दैनन् ।

कर्णाली राजमार्गअन्तर्गतको कालिकोट तिलागुफा नगरपालिका–६ को खल्लागाड खोलामा बाढीका कारण सडक बर्खामा सधैँजसो सडक अवरुद्ध हुने गर्छ । खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेपछि वर्षासँगै खोलामा आएकोे बाढीका कारण सडक सधैँ अवरुद्ध हुने गरेको  यातायात व्यवसायी बमले बताए । ‘पुल बन्न लागेको चार वर्ष भयो,’ उनले भने, ‘अहिलेसम्म पनि पूरा हुन सकेको छैन । यही खोलामा यातायातका साधन सधैँ जाममा पर्ने गरेका छन् ।’

खल्लागाड खोलासँगै कालिकोटको दहीखोला र घट्टेखोलामा पनि सवारीसाधन हप्तौँ थन्किने गरेको उनले बताए । साना खोलामा पुल नहुँदा यातायातका साधन आउजाउ गर्न नसक्ने भएकाले खोलामा निर्माणाधीन पुलहरू चाँडो बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने खाँडाचक्र नगरपालिका–१ वडाध्यक्ष गणेशबहादुर शाहीले बताए । ‘खोला भएका ठाउँमा अवरोध हटाउने गरी डिजाइन नगर्दा समस्या आएको छ,’ उनले भने, ‘यी खोलाहरूमा पुल नबन्दा समस्या भएको छ । यो समस्या समाधान गर्न माथिल्लो निकायले चासो दिनुपर्ने देखिन्छ ।’

चार वर्षदेखि पुन बनेनन्
कर्णाली राजमार्गका खोलामा निर्माणाधीन पुलहरू ४ वर्षदेखि अलपत्र परेको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष गणेशबहादुर शाहीले बताए । ठेकेदारको लापरबाहीले चार वर्षदेखि पुल बन्न नसकेको उनले बताए । ठेकेदारलाई पुल बनाउन पहल चाल्न सडक डिभिजन कार्यालय जुम्लाले खासै चासो नदिएको स्थानीयको आरोप छ । पुल नबन्दा ठाउँठाउँमा ‘मेल सिस्टम’ (एउट गाडीले अर्कोलाई यात्रु दिने) का कारण यात्रुलाई यात्रा गर्न सास्ती र महँगो पर्ने गरेको रारा कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष हस्तबहादुर बमले बताए ।