☰ open Loading... 17 August 2019|   शनिबार, साउन ३२, २०७६

डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी

  |

जुम्ला, मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी गरिएको छ । साना जलविद्युत् उपभोक्ता समितिले डिजेल प्लान्ट मेसिन भित्र्याएको छ । साना जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन ल्याइएको थियो । तर, जडानका क्रममा मेसिनको बेरिङ भाँचिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

मेसिन खरिदका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण कम्पनीले एक करोड ८६ लाख ८५ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, मेसिन जडान नहुँदा नौ महिनादेखि जुम्ला सदरमुकाम बिजुलीविहीन छ । तत्काल मेसिन जडान गरेर बिजुली बल्ने नदेखिएपछि डिजेल प्लान्ट खरिद गरिएको अध्यक्ष शाहीले बताए ।

अहिले सांसद विकास कोषको रकम खर्च गरिएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट २४ लाख ६० हजार उपलब्ध गराएको अध्यक्ष शाहीले बताए । नेपालगन्जबाट चार दिन लगाएर दुई सय केभी (१६० किलोवाट) क्षमताको मेसिन जुम्ला पु-याएको समितिले जनाएको छ । अब केही दिनमै बिजुली उत्पादन हुने भएको छ ।

चाडपर्वको वेला सर्वसाधारणलाई सजिलो होस् भनेर डिजेल प्लान्टको ल्याइएको सांसद महतले बताए । उत्पादन महँगो हुने भए पनि सहुलियत दरमा उपलब्ध गराइने उनको भनाइ छ । नौ महिनादेखि बत्ती नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएको छ । यसबाट २२ हजार उपभोक्ता मर्कामा परेका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     12:05:26 PM
error: Content is protected !!