☰ open Loading... 15 July 2020|   बुधबार, असार ३१, २०७७

आईएनएफ सन्धि अन्त्य, सुरु हुन लागेको हो हतियारको होड ?

  |

अमेरिकाले तत्कालीन सोभियत संघसँग भएको आणविक हतियार नियन्त्रणसम्बन्धि सन्धि औपचारिक रूपमा तोड्ने निश्चित भएको छ । यो सन्धि भंग भएपछि विश्वमा हतियारको खुला होडबाजी सुरु हुनसक्ने चौतर्फी आशंका व्यक्त गरिएका छन् ।  सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्वाचोभले इन्टरमिडियट–रेन्ज न्यूक्लियर फोर्सेस (आइएनएफ) सन्धिमा हस्ताक्षर गरेका थिए । विश्वमा शीत युद्धको अन्त्य र शान्ति स्थापनाका लागि गरिएको आईएनएफ सन्धिमा हस्ताक्षर गर्नेमध्ये सोभियत नेता गोर्वाचोभ जिवित साक्षी हुन् । यो सन्धिले ५०० देखि ५५ सय किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ । अमेरिका रुसको एसएस–२० को युरोपमा तैनाथीबाट रुष्ट र त्रसित थियो ।

यो सन्धिअनुसार नै दुई देशले एक अर्काको मिसाइल परीक्षण र तैनाथीमाथि नजर राख्ने अनुमति पाएका छन् । सन् १९८७ मा यो सन्धि भएपछि १९९१ सम्ममा करिब २७ सय मिसाइल नष्ट गरिएका थिए ।
तर सन् २०१९ को सुरुमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए । रुसले यो आरोपको खण्डन गरेको थियो । अमेरिकाले रुसले ९एम७२९ क्षेप्यास्त्रहरू विभिन्न स्थानमा तयार राखेको प्रमाण भएको सम्म दाबी गरेको थियो । त्यही आरोप अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूसमक्ष राख्दा सबैले समर्थन जनाएका थिए । यो प्रकरणबाट अमेरिका र नेटोसँग सोभियत संघको उत्तराधिकारीको मान्यता पाएको रुस रुष्ट भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत फेब्रुअरीमा रुसले २ अगस्टसम्म यो कदम नसच्याएमा सन्धि तोड्ने बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए ।

पृष्ठभूमि

सन् १९१७ लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति पूरा भयो र कम्युनिस्ट पार्टीको नेतृत्वमा सोभियत संघको जन्म भयो । विश्वको पाँच भागको एक भाग क्षेत्रफल ओगटेको सोभियत संघ समाजवादी विश्वको नेता थियो । लेनिनपछि स्टालिन ख्रुश्चोभ हुँदै मिखाइल गोर्बाचोभसम्म आइपुग्दा सोभियत संघ क्षतविक्षत बन्न पुग्यो । सर्वहारा अधिनायकत्वको अर्थ सत्तामा सर्वहारा वर्गको नियन्त्रण, नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्दै वर्गीय खाडलको अन्त्य गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य भएपनि सोभियत संघको कम्युनिस्ट पार्टी निरन्तर त्यो दिशाबाट च्युत हुन थालेकोे थियो । स्टालिनको समयसम्म जबरजस्त रूपमा बलियो बनेको सोभियत संघमा ख्रुश्चोभ हुँदै गोर्भाचोभसम्म आइपुग्दा संशोधनवाद हाबी भएको थियो भने पार्टी बिचारबिहीन स्वार्थ समूहको झुन्डमा परिणत भइसकेको थियो । सर्वहारा वर्गको अधिनायकत्वको स्थान राज्य र पार्टीको शीर्ष स्थानमा रहेका नेताको अधिनायकत्वमा रुपान्तरण भएको थियो । यसैले रुसी समाजवादी क्रान्तिमा हजारौं हजारले साथ दिएपनि सोभियत संघ ढल्दा त्यसलाई बचाउन कसैले जोडबल गरेनन् ।

दोस्रो विश्वयुद्धमा सोभियत संघ अमेरिका र बेलायतसँगै थियो । विश्वयुद्धको अन्त्यसँगै अमेरिका र सोभियत संघबीच तिव्र विवाद तथा शीतयुद्धको अवस्था देखा प¥यो । सोभियत संघलाई लामो समय नेतृत्व प्रदान गरेका स्टालिनको निधनपछि जर्जी मेलेनकोभ र लगत्तै निकिता ख्रुश्चोभ हँुदै गोर्बाचोभसम्मले सोभियत सत्ता सम्हाले तर, विघटनको प्रक्रियालाई रोक्न सकेनन् । उनीहरूको वैचारिक धरातल कमजोर हुनु र साम्राज्यवादी शक्तिमाथि विजयी बन्न सक्ने आत्मविश्वास नहुनुको परिणाम थियो, त्यो । अन्तिम सोभियत नेता गोर्बाचोभले आफू सत्तामा आएलगत्तै ‘उस्कोरेनी’ ‘पेरेस्त्रोइका’ र ‘ग्लास्नोस्त’ जस्ता नीति ल्याए । जसको उद्देश्य सामाजिक–आर्थिक प्रगतिमा तिव्रता ल्याउनु, समाजको लोकतान्त्रिकरण गर्नु, लोकतान्त्रिक विकेन्द्रिकरण, व्यक्तिको नैतिक र आध्यात्मिक विकास, सामाजिक विकृतिको पर्दाफास गर्नु थियो । तर उनका योजना सफल भएनन् । अन्तिम समयमा केही सोभियत नेताहरूले सत्ता हातमा लिने कोशिस गरेपनि सोभियत संघ विघटनको प्रक्रिया तीव्र बन्यो र सन् १९९१ मा १५ राष्ट्रमा विभाजित हुन पुग्यो ।

सोभियत संघ विघटनको कारण भने एउटा मात्रै थिएन । तत्कालीन राजनीतिक अवस्था, आर्थिक संकट, सैन्य शक्ति, अफगानिस्तान प्रकरणमा सोभियत संघको असफलता, परमाणु शक्तिको होड र त्यसलाई टिकाइराख्ने चुनौतिको एकैपटक सामना गर्नुपर्दा त्यसले एकातर्फ सोभियत सत्तामाथि दबाब सिर्जना गरेको थियो भने अर्कातिर राज्यहरूमा ब्यापक असन्तुष्टि चुलिएको थियो । त्यसअघि सन् १९८७ मा नै गोर्वाचोभले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग आईएनएफ सन्धिमा हस्ताक्षर गरेका थिए । आइएनएफ सन्धिमार्फत अमेरिका सोभियत संघमा हाबी भइसकेको थियो । उर्लिदो असन्तुष्टिकाबीच आफैंमा खोक्रो बनिसकेको सोभियत सत्ता र बिचारशून्य, आत्मकेन्द्रित कम्युनिस्ट नेताहरूले त्यो पहिरो थाम्न सकेनन् । यसैकारण सोभियत संघ कुनै सन्धि गरेर सत्ताको आयु लम्ब्याउन र पुँजीवादी व्यवस्थाभित्र प्रवेश गर्न कोशिस गरिरहेको थियो । अमेरिका पनि शीतयुद्धको मुख्य प्रतिद्वन्द्वी सोभियत संघलाई ढलाएर विश्वमा एकछत्र राज गर्न चाहन्थ्यो ।
त्यसका लागि अमेरिकालाई सोभियत संघका हतियारसम्म पुहँच चाहिएको थियो । लामो समय समाजवादी खेमाको नेतृत्व गरेको सोभियत संघलाई कमजोर आँक्नु उसका लागि निकै खतरनाक बन्न सक्थ्यो । त्यसैले एक अर्काको स्वार्थ यहीनेर मिल्यो र एकअर्काबाट आफूलाई सुरक्षित राख्ने आवश्यकताको सिद्धान्तबाट सन् १९८७ मा आईएनएफ सन्धिमा हस्ताक्षर भएको थियो । यो अमेरिका र सोभियत संघको शीतयुद्धको सुरक्षित अवतरणको मुर्त अभिव्यक्ति थियो ।

के हो आईएनएफ सन्धि ?

सन् १९८७ मा अमेरिका र सोभियत संघले यो सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले समुन्द्रबाट प्रहार गरिने बाहेकका सबै खाले क्षेप्यास्त्रहरूलाई प्रतिबन्ध लगाएको छ । रुसले एसएस–२० क्षेप्यास्त्र तयार राखेपछि चिन्ताग्रस्त अमेरिकाले सन् १९७९ मा युरोपमा पेर्सिङ् र क्रुज क्षेप्यास्त्र राखेको थियो । सन् १९९१ मा झन्डै २ हजार ७ सय क्षेप्यास्त्र तयारी अवस्थामा थिए । आईएनएफ सन्धि अनुसार अमेरिका र रुस दुवैले एक अर्काका क्षेप्यास्त्रबारे जानकारी राख्न पाउँछन् । यो सन्धिले करिब २० वर्षभन्दा बढी काम ग¥यो । सन् २००७ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आईएनएफ सन्धि रुसका लागि फाइदाजनक नभएको बताए । त्यसअघि नै अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशको समयमा सन् २००२ मा अमेरिका क्षेप्यास्त्रसम्बन्धी एक सन्धिबाट पछि हटेको थियो । सन् २०१४ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले नयाँ क्षेप्यास्त्र परीक्षण गरेर सन्धि उल्लंघन गरेको आरोप लगाए । यद्यपि उनले कतिपय युरोपेली र नेटो आबद्ध राष्ट्रहरूको दबाबका कारण सन्धि तोड्न सकेनन् । यसरी आइएनएफ सन्धिबारे टिकाटिप्पणी र आशंकाहरू सुरु भएको करिब १७ वर्षपछि डोनाल्ड ट्रम्प यसबाट अलग भएका छन् । जसलाई विश्वको सुरक्षा क्षेत्रमा नयाँ तरंग ल्याउने निर्णयका रूपमा लिइएको छ ।

अबको खतरा

कुनै समय विश्वका महाशक्ति राष्ट्र सोभियत संघ र अमेरिकाबीच भएको यो सन्धि भंग हुनुले विश्वमा परमाणु हतियार नियन्त्रणका लागि बनाइएको एउटा प्रणाली नष्ट भएको छ । अर्थात विश्वमा आणविक हतियारको होडबाजी बढ्ने खतरा उत्पन्न भएको छ । यसलाई विश्वका नेताहरूले चिन्ताजनक अवस्थाका रूपमा हेरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले पारमाणविक युद्धको एउटा ब्रेक हराउन लागेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यसले क्षेप्यास्त्रहरूले खतरालाई घटाउने होइन, झन बढाएको छ ।’ उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण गर्न नयाँ साझा बाटोका लागि सहमति खोज्न अनुरोध गरेका छन् । तर यस्तो कुनै नयाँ सम्झौता तत्काल हुने अवस्था देखिएको छैन । विश्लेषकहरूले ऐतिहासिक सहमति नहुँदा अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी सुरू हुने आशंका व्यक्त गरेका छन् । ‘अब आईएनएफ सन्धि अन्त्य भएपछि हामीले नयाँ अस्त्रहरूको विकास र विस्तार देख्नेछौं,’ एक रुसी सैन्य विशेषज्ञ भन्छन्, ‘रुस पहिल्यै तयार छ ।’

परमाणु निशस्त्रीकरणमा ठूलो झट्का

कुनै समय विश्वको पाँच भागको एक भाग जमिन ओगटेको सोभियत संघ विघटन भएको २८ वर्ष पुग्यो । सोभियत संघ विघटनपछि यसको उत्तराधिकारीको मान्यता रुसलाई छ । सोभियत संघ गठन हुनुअघिको सबैभन्दा शक्तिशाली राज्य पनि रुस नै भएकाले धेरैले सोभियत संघलाई रुस कै रूपमा चिन्ने गर्छन् । सन् १९१७ मा वोल्सेभिक पार्टीको नेतृत्वमा रुसमा क्रान्ति सम्पन्न पश्चात सन् १९२२ मा सोभियत संघ बनेको थियो । जसले विश्वमा करिब ७० वर्ष समाजवादी धारको नेतृत्व ग¥यो र दोस्रो विश्वयुद्धपश्चात अमेरिकाविरोधी खेमाको नेतृत्व ग¥यो । यो समयमा एसियादेखि पूर्वीयुरोप हुदै ल्याटिन अमेरिकासम्म समाजवादी झण्डा फहराउन सोभियत संघको ठूलो भूमिका छ । सोभियत संघको विघटनपछि विश्वमा पुँजीवाद र अमेरिकाको एकछत्र राज चल्यो । अहिले सोभियत संघको सबैभन्दा ठूलो र उत्तराधिकारीको मान्यता पाएको रुस शक्ति केन्द्रका रूपमा स्थापित हुँदैछ । तर, रुस समाजवादी शक्ति नभएर पुँजीवादी कित्ताकै अमेरिकाविरोधी शक्तिका रूपमा रहेको देखिन्छ । तर यी दुवै शक्तिको लक्ष्य आफू अनुकुल विश्वमा हतियारको दबदबा स्थापित गर्नु नै रहेकोमा अब शंका छैन । रुस र अमेरिकाबीच यतिबेला तत्कालीन सोभियत संघसँग भएको इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्सेज (आईएनफ) सन्धि अन्त्य भएको छ ।

अन्तिम सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सोभियत संघ ढल्नुभन्दा केही वर्षअघि सन् १९८७ मा आईएनफ सन्धिमा हस्ताक्षर गरे । गोर्बाचोभ सन्धिका जीवित हस्ताक्षरकर्ता हुन् भने रेगनको सन् २००४ मा निधन भइसकेको छ । रेगनको निधनको ठीक १४ वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सन्धिबाट बाहिरिने धम्की दिए र अन्ततः अमेरिका यो सन्धिबाट पछि हटेको छ । ट्रम्पको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ । आलोचना गर्नेमा सबैभन्दा पहिलो व्यक्ति यसका हस्ताक्षरकर्ता सोभियत नेता गोर्भाचोभ नै थिए । उनले ट्रम्पको शीतयुद्धका क्रममा भएको परमाणु हतियार सन्धि तोड्ने योजना परमाणु निशस्त्रीकरणका लागि ठूलो झट्का भएको भएको बताएका छन् ।

हतियारको होडबाजीको खतरा

विश्वमा यतिबेला शक्तिको होडबाजी चरम अवस्थामा छ । अमेरिका आफूलाई पहिलो शक्तिका रूपमा ठान्छ भने रुस अमेरिकाको प्रतिस्पर्धीका रूपमा आफूलाई लिन्छ । कम्युनिस्ट खेमाबाट चीन विश्वकै शक्तिशाली राष्ट्र बन्ने ध्याउन्नमा छ । आर्थिक रूपमा विश्वमा नै एक नम्बर शक्तिका रूपमा स्थापित हुँदै आएको चीनले कूटनीतिक, सामरिक, सैन्यसहित सबै क्षेत्रमा आफूलाई विश्वको शक्ति राष्ट्रका रूपमा उभ्याएको छ । यी तीनवटै राष्ट्र सैन्य शक्तिका हिसाबले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । विश्वमा हाल भइरहेका विभिन्न युद्ध र विवादमा कुनै न कुनै रूपमा अमेरिका र रुस संलग्न हुने गरेका छन् । त्यसैले यी दुई शक्ति राष्ट्रबीच भएको सम्झौता नै नरहेको अवस्थामा झनै खतरा निम्तने आशंका व्यक्त भएका छन् । अमेरिका नेतृत्वको नेटोले फेरि हतियारको होडबाजीको खतरालाई नकारेको छ । हुन त अहिले पनि अमेरिका र रुसबीच हतियारको होडबाजी चलेकै छ । फरक यति हो कि यी शक्ति सिधा एक अर्काविरुद्ध नभएर तेस्रो पक्षमार्फत हतियारको होडमा छन् । अर्को महत्वपूर्ण कुरा यतिबेला विश्वले हतियारको होड चाहेको छैन ।

यस्तै अमेरिका र रुस कुनै समय दुई शक्ति भएपनि अन्य शक्ति राष्ट्रहरू शक्तिशाली अवस्थामा स्थापित भइसकेका थिएनन् । तर अहिले क्षेत्रीय स्तरमा मध्यम शक्ति राष्ट्रहरू प्रशस्त शक्तिका साथ आफूलाई स्थापित गराइरहेका छन् । त्यसैले एकातिर दुई शक्ति राष्ट्रबीच हतियारको होड बढेमा त्यसको फाइदा तेस्रो पक्षले लिने खतरा उत्तिकै हुन्छ भने अर्कोतिर दुई परमाणु शक्ति राष्ट्रबीच युद्धको अवस्था आएमा त्यो बिनाशको लागि निम्ता दिएसरह हुने कुरा दुवैलाई उत्तिकै हेक्का हुनुपर्छ । सबैभन्दा रोचक कुरा त के छ भने यतिबेला न अमेरिकाले यो सन्धिको औचित्य देखेको छ, न त रुसले नै । सन् २०२१ को फेब्रअरीमा समाप्त हुने यो सन्धिको अस्तित्व वास्तममै टाढाको विषय बनेको थियो । यसको विरोधाभास भनेको सोभियत संघको पतनपछि तनाव स्वतः कम भएकाले हतियारको नियन्त्रण कम महत्वको विषय बनेको थियो । जब रुसले आफ्नो शक्ति आर्जन गर्दै गयो तब उसलाई यो सन्धि स्थिरताको विषय महत्वपूर्ण बन्यो । रुस र अमेरिकाले आफ्ना पुराना दिनहरूमा जस्तै परमाणु हतियारको होड खुला रूपमा सुरु गरेमा र नयाँ हतियार विकसित गर्ने अभियानमा लागेमा हतियार नियन्त्रणमाथि संकट भने अवश्य आउँछ । तर त्यो सजिलो र नजिकै छैन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     2:02:52 PM
error: Content is protected !!