☰ open Loading... 19 April 2024|  

शिक्षक बिदा र काजमा गएपछि पढाइ प्रभावित
  | १९ श्रावण २०७६, आईतवार १९:२२

जुम्ला, पातारासी गाउँपालिकाको डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका ऐच्छिक गणित विषयका शिक्षक लामो समयदेखि नआएपछि पढाइ प्रभावित भएको छ ।

विद्यालयका अनुसार, शिक्षक अमरनाथ शाह वैशाख पहिलो साता घरमा बिदामा गएका थिए । तर, चार महिनासम्म नआएपछि समस्या भएको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । उनी कक्षा ९ देखि १२ सम्म ऐच्छिक गणित पढाउँदै आएका थिए । ‘घर जान्छु भनी गएका थिए । हाजिर हुन पटक–पटक जानकारी गराउँदा पनि आएका छैनन्,’ प्रधानाध्यापक बुढाले भने ।

शिक्षक नहुँदा पढाइ प्रभावित भएको विद्यार्थीले बताएका छ । विषय गरेर कक्षा ९ र १० का विद्यार्थीलाई समस्या भएको छ । अरूले ऐच्छिक विषय पढाउन नसक्ने र आफँै पढ्दा पनि नबुझिने भएकाले समस्या भएको विद्यार्थीको भनाइ छ ।

त्यस्तै, सामाजिक विषयका शिक्षक कमलबहादुर शाही सट्टा शिक्षक राखेर स्रोत व्यक्तिका रूपमा काममा गएका छन् । उनी काजमा चन्दननाथ नगरपालिकाको शिक्षा शाखामा काम गरिरहेको प्रधानाध्यापक बुढाले बताए । उनी काजमा गएपछि कक्षा ९ र १० को सामाजिक विषयको गत फागुनदेखि पढाइ हुन सकेको छैन । उनको सट्टामा रहेका शिक्षक नन्दबहादुर बुढा प्रावि तहमा पढाउने गरेका छन् । यो विद्यालयमा पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् ।

चार शिक्षकको दरबन्दी रिक्त
ऋणमोक्ष माध्यमिक विद्यालयमा दरबन्दीअनुसार, शिक्षक पदपूर्ति पनि भएको छैन । चार पद रिक्त रहेको प्रधानाध्यापक बुढाले बताए । यो विद्यालयमा १७ जनाको दरबन्दी छ तर, अहिले १३ शिक्षक मात्रै कार्यरत छन् ।

अहिले गणित, अंग्रेजी, ऐच्छिक गणित र सामाजिक विषयका शिक्षक दरबन्दी रिक्त रहेको छ । जसले गर्दा पढाइ प्रभावित हुन पुगेको विद्यालयले जनाएको छ ।