☰ open Loading... 29 March 2024|  

राकम कर्णालीमा नयाँ सहर निर्माण योजना आठ वर्षदेखि अन्योलमै
  | २० श्रावण २०७६, सोमबार ११:१५

दैलेखको आठबिस नगरपालिकास्थित कर्णाली नदी किनारमा समतल छ, राकम कर्णाली । यही फाँटमा आठ वर्षअघि सरकारले नयाँ सहर बनाउने निर्णय गर्दा स्थानीय बासिन्दा खुसी थिए । तर, अहिलेसम्म निर्माण योजना अघि नबढ्दा भने चिन्तित बनेका छन् ।

ग्रामीण बस्तीमा स्वास्थ्य र शिक्षालाई प्रभावकारी सेवा प्रदान गर्ने अभियानसँगै एकीकृत बस्ती विकास गर्न राकम कर्णालीमा पनि नयाँ सहर बनाउने योजना बनेको थियो । मध्यपहाडी राजमार्गमा निर्माण गरिने नयाँ १० नयाँ सहरमा परेको राकम कर्र्णालीमा भने अहिलेसम्म कुनै काम हुन सकेको छैन । ‘स्थानीय सरकारले चासो देखाए पनि काम अघि बढ्न सकेको छैन, संघीय सरकारले गर्नुपर्ने भएकाले अलमलमै छ,’ आठबिस नगरपालिका मेयर खड्गराज उपाध्यायले भने ।

नयाँ सहर निर्माण गर्ने योजना सुरुआत भएको केही समय मुआब्जा विवादले काम हुन सकेन । बजार मूल्यभन्दा कम मुआब्जा पाइने भए पनि स्थानीय बासिन्दाले जग्गा दिन सहमत भएनन् । ‘आफ्नो जग्गाको चलनचल्तीको मूल्य पनि नपाएपछि विरोध गर्नुपरेको हो,’ स्थानीय गणेश माझीले भने । मनग्ये उब्जनी हुने खेत नासिने तर स्थानीय बासिन्दाले निकै कम मुआब्जा पाइने भए पनि ६ वर्ष विवादमै गुज्रियो ।

जग्गा मुआब्जा विवादले ६ वर्षसम्म काम अघि बढ्न नसकेपछि स्थानीय सरकारले सहमतिको पहल थालेको थियो । स्थानीय सरकार, आयोजना र स्थानीय बासिन्दाबीच नयाँ योजनाअनुसार, सहमति भएको आठबिस नगरपालिका मेयर उपाध्ययले बताए । उनका अनुसार, ल्यान्डपोलिङ विधिमार्फत नयाँ सहर बसाउने सहमति भएको हो ।

यसअनुसार, जग्गाको ३० प्रतिशत सडक र अन्य पूर्वाधार निर्माण गरिने र ७० प्रतिशत जग्गा जग्गाधनीलाई नै फिर्ता गरिनेछ । स्थानीय सरकारले सहमति गराए पनि आयोजनाले काम अघि नबढाएको मेयर उपाध्यायले बताए । ‘सहमतिपछि दुई वर्ष व्यतित भइसकेका छन् । स्थानीय सरकारले बारम्वार कामको प्रगतिबारे चासो लिए पनि प्रतिफल प्राप्त भएको छैन,’ उनले भने ।

काम अगाडि बढाइरहेका छौँ : आयोजना
ल्यान्डपोलिङको विषयमा सहमति भएपछि कामको जिम्मा लिएका कन्सल्टेन्टहरूले प्रतिवेदन बुझाएको आयोजनाले जनाएको छ । त्यसअनुसार, आयोजनाले गत असारमै जग्गाको ‘ब्लग’ बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पठाएको आयोजनाका उपप्रमुख भूपराज पौड्यालले बताए । ‘गत वर्षदेखि नै काम अघि बढेको छ । सडक र अन्य भौतिक पूर्वाधाका लागि ६ वटा ठेक्का खोलेर काम अघि बढेको छ,’ उपप्रमुख पौड्यालले भने ।

यो वर्ष सडक निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायतका कामका लागि आठ करोड विनियोजन गरिएको आयोजनाले जनाएको छ । राकम कर्णालीको भेलतडीदेखि झोलुंगेपुल, खिड्कीज्यूलादेखि राकम कर्णालीसम्म सडक चौडा र कालोपत्रेका लागि ठेक्का खोलेको जनाएको छ ।