☰ open Loading... 18 April 2024|  

तलबभन्दा कृषि फार्मबाट बढी आम्दानी गर्छन् लेखा अधिकृत
  | २६ श्रावण २०७६, आईतवार १८:०५

वीरेन्द्रनगर–१० का सुशील केसी सरकारी कर्मचारी हुन्।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत उनले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गरेका छन्।

उनले दुई वर्षअघि फार्म सञ्चालनमा खोलेका हुन्।

‘मेरो जागिरको शुरुआतै पशु सेवाबाट भएको हो, त्यतिबेला कृषकलाई हेलाका दृष्टिले हेरिन्थ्यो, पछिल्लो समय कृषिलाई हेर्ने समाजको धारणा पनि बदलिएको छ’, उनले भने, ‘पुर्ख्यौली जग्गा भएकाले एकीकृत कृषि फार्म सञ्चालन गर्ने योजना बनाएँ।’
फार्ममा स्थानीय जातका कुखुरा, टर्की, जर्सी गाईपालनका साथै मौसमी-बेमौसमी तरकारी उत्पादन हुने गरेको छ। ६ बिघासम्म फैलिएको फार्ममा एकलटमा ५०० हाराहारीमा कुखुरा उत्पादन हुन्छन्। पाँच जर्सी गाई छन्।

‘प्रदेश राजधानीमै भएकाले यहाँ उत्पादन हुने तरकारीलाई बजारको समस्या छैन्’, केसीले भने, ‘विषादी प्रयोग गर्दिनँ, अर्ग्यानिक उत्पादन भएकाले ग्राहकहरु फार्ममै आउँछन्।’

एक बिघा जमीनमा टिक जातको रूख र नेपियर घाँस खेती गरिएको छ।

‘कर्णाली प्रदेशमै पहिलो पटक टिक जातको रुख रोपेको छु, १०–१२ वर्षमै रुख बिक्री गर्ने अवस्थामा पुग्छ,’ उनले भने।ं

फार्मले घाँस बेचेर राम्रो आम्दानी गरेको छ। घाँसका बेर्ना किन्न टाढाबाट कृषक आउँछन्।

फार्ममा तीन जनाको परिवारले रोजगारी पाएका छन्। व्यावसायिक माछापालन र फार्ममै उत्पादित अर्ग्यानिक कृषि उपजबाट रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ।

जागिरबाट बचेको समय फार्मलाई दिने गरेको उनले बताए। आफूलाई कृषि पेशामा आउन सरकारको कृषिमैत्री नीतिले प्रोत्साहन गरेको उनको भनाइ छ ।

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताए।

‘फार्म सञ्चालनमा ल्याएको दुई वर्षमात्रै भयो, यस अवधिमा आवश्यक पूर्वाधार बनाउनमै केन्द्रित हुनुपर्‍यो’, सञ्चालक केसी भन्छन्, ‘अबको केही वर्षमै वार्षिक एक करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छु।’

(रासस)