☰ open Loading... 23 August 2019|   शुक्रबार, भदौ ६, २०७६

उदासीनताका लक्षण र रोकथाम

  |

सामान्यतया मानसिक रोग कडा खालको मानसिक रोग र सामान्य खालको मानसिक रोग गरी दुई प्रकारका हुन्छन् ।  विश्व स्वास्थ्य संगठनको तथ्यांकका आधारमा नेपालमा करिब १ देखि २ प्रतिशतमा कडा खालको मानसिक रोग र २० प्रतिशतमा मध्यम खालको मानसिक रोग भएको अनुमान छ ।

उदासीनता भनेको मानसिक रोग हो । यसले व्यक्तिको सुत्ने र खाने तरिका, सोचाइ, अनुभव र विचारमा नकारात्मक प्रभाव पार्छ । झन्डै ३०० मिलियन व्यक्ति उदासीनताको समस्याबाट प्रभावित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विभिन्न प्रतिवेदन हेर्दा पुरुषको दाँजोमा महिला यस्तो समस्याबाट धेरै पीडित हुने गरेका छन् । नेपाली समाजमा महिलाले आफूमा भएको समस्या अरूसामु हत्तपत्त व्यक्त गर्न सक्दैनन् । गरिहाले पनि परिवार, समाजले सहज रूपमा नबुझ्ने भएकाले यस्तो रोग लुकेरै रहने गर्छ ।

कारण 

  • उदासीन व्यक्तिका दिमागमा विभिन्न तत्व परिवर्तन हुने गर्छन् । वंशाणुले पनि भूमिका निर्वाह गर्छ ।
  • केही शारीरिक समस्याले उदासीनताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् । जस्तै, हर्मोनल समस्या, पार्किनसन रोग आदि ।
  • केही औषधोपचार उदासीनता हुनुका कारक हुन सक्छन् । जस्तै, उच्च रक्तचापका लागि दिइने औषधिहरू ।
  • कम आत्मसम्मानको भावना, अरूप्रति अति आश्रित, कडा तथा समयनिष्ठ, नकारात्मक सोचाइ राख्नेहरू यस्तो समस्याको सिकार हुन सक्छन् ।
  • पारिवारिक वा वैवाहिक समस्या, अन्तरवैयक्तिक सम्बन्धमा समस्या, कामको तनाव, पारिवारिक संकट, आर्थिक संकट, हिंसा, बाल्यवस्थामा आघात अनुभव गर्नु, आत्मविश्वासको कमीलगायत सामाजिक तथा मनोवैज्ञानिक समस्याले पनि यस्तो अवस्था निम्त्याउन सक्छ ।

उदासीनताका लक्षण

  • करिब दुई हप्ता वा सोभन्दा बढी समयसम्म तलका लक्षण लगातार देखिएमा उसदासीनता भएको हुन सक्छ । शरीर दुख्ने, सुत्न कठिनाइ हुने,  यौन चाहनामा कमी आउने, खानाप्रति रुचि घट्ने, ढुकढुकी बढ्ने, निस्सासिएको महसुस हुने, छाती दुख्ने, रिंगटा लाग्ने, शरीर काँप्ने, जिउभरि सियोले घोचेजस्तो महसुस हुने, तौल घट्दै जानेलगायत यसका शारीरिक लक्षण हुन् ।
  • हीनताभाव बढ्नु, नकारात्मक तथा अनावश्यक सोचको विकास, दिक्दारी, रुचि घट्दै जानु, थकित महसुस हुनु, खुसी अनुभव गर्न नसक्नु, आत्मग्लानी हुनु, आत्मबल र आत्मसम्मानको कमी, परिवार तथा साथीभाइसँग आत्मीयता घट्नु, निराशापन, निर्णय क्षमतामा कमी, ध्यानकेन्द्रित गर्न नसक्नु, आत्महत्याको विचार आउनु, भविष्य अँध्यारो देख्नुलगायत यसका मानसिक लक्षण हुन् ।
  • सामाजिक अन्तक्र्रियाहरूबाट टाढिने, जिम्मेवारी बहन गर्न नसक्ने, मनोरञ्जनका क्रियाकलापबाट टाढिने, मादक पदार्थ सेवन गर्ने, विनाकारण रोइरहने, पहिले खुसी अनुभव गरेका कुरामा पनि खुसी अनुभव गर्न नसक्नेलगायत व्यावहारिक लक्षण देखिन सक्छ ।

उपचार र रोकथाम
समयमै आफ्नो रोग पहिचान गरेर उपचार गरेमा रोकथाम कठिन छैन । प्रत्येक व्यक्तिले आफ्नो जीवनशैलीलाई सन्तुलनमा राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राख्ने गर्नुपर्छ । पीडितले मानसिक स्वास्थ्य सहयोग र मानसिक स्वास्थ्य साक्षरताको बारेमा जानकारी राखेर पनि जीवनमा सकारात्मक सोच विकास गर्न सक्छ । समस्याबारे आफ्नो विश्वासिला साथीभाइ र परिवारलाई भन्ने गरेमा समाधानका लागि सहयोग पाउन सकिन्छ तथा मनोचिकित्सकसँग परामर्श लिएर समाधानका उपाय खोजी गर्न सकिन्छ ।

प्रकाशित मितिः आइतवार, साउन २६, २०७६     6:09:34 PM
error: Content is protected !!