☰ open Loading... 22 August 2019|   बिहिबार, भदौ ५, २०७६

बालबच्चासँग कति निकट हुनुहुन्छ ?

  |

बच्चामा भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावक र बच्चावीचको सम्बन्धमा निर्भर गरेको पाइन्छ । विभिन्न समयमा गरिएको अध्ययनबाट यही कुरा पुष्टि भएको छ । बच्चा आमाबुवासँग जति धेरै निकट हुन्छन् उत्तिनै उनको व्यक्तित्व सन्तुलित हुन्छ । बच्चा आफुसँग निकट भएको वा आफु बच्चासँग निकट भएको कसरी थाहा पाउने त ?

जब तपाईं कुनै दिन उदास हुनुहुन्छ वा दुःखी हुनुहुन्छ, यस्तो स्थितीमा बच्चा तपाईंसँग खुलेर कुरा गर्छ वा गर्दैन ? यदि यस्तो अवस्थामा तपाईंसँग आफ्नो बच्चा खुलेर कुरा गर्न सक्दैन भने तपाईं र बच्चावीचको सम्बन्ध त्यती गहिरो छैन । अर्थात तपाईं बच्चासँग त्यती निकट हुनुहुन्न, जति हुनुपथ्र्यो ।

केही समयअघि अमेरिकाको टेक्सासमा प्रोफेसर मैथ्यु ए एन्डर्सनद्वारा गरिएको एक अध्ययन अनुसार बाल्यकालमा तपाईं र अभिभावकबीच जुन किसिमको सम्बन्ध थियो, ठूलो भइसकेपछि त्यसले तपाईंको स्वास्थ्यमा प्रभाव पार्छ । ठूलो भइसकेपछि ति व्यक्तिहरुको स्वास्थ्य त्यती राम्रो हुँदैन, बाल्यकालमा जसको सम्बन्ध अभिभावकसँग कटुतापूर्ण थियो । अर्थात अभिभावकले कुट्ने, पिट्ने, गाली गर्ने गर्थे । बाल्यकालमा अभिभावकसँग मिठासपूर्ण सम्बन्ध नरहेका बालबालिका जब हुर्कन्छन्, उनीहरुको जीवनशैली स्वस्थ्य ढंगले विकास भएको हुँदैन । इमोसन र सोशल स्किल्सको हिसाबले पनि उनीहरु पछि पर्छन् ।

अध्ययन अनुसार अभिभावक र बालबच्चाको सम्बन्ध सुमधुर छैन भने बच्चाको खानपान, सुताई र अन्य गतिविधि अनियमित हुनपुग्छ । घरको ताजा र सन्तुलित खानेकुरा नभई उनीहरु जंकफूड, स्टि्रट फुड र हाइ फ्याट फुड लिन थाल्छन् ।

बच्चालाई आत्मियता चाहिन्छ साहनुभूती होइन

जब बच्चा कुनै कारणले दुःखी भएर, चिन्तित भए, क्रोधित भएर, हतोत्साही भएर घर र्फकन्छन्, तब आमाबुवाले उनलाई दुःखी वा चिन्तित नहुनका लागि सान्तवना दिन्छन् ।

‘धेरै रिसाउनु हुँदैन’, ‘हतोत्साही नबन’, ‘चिन्ता नगर’ भन्दै अभिभावकले बच्चालाई शान्त तुल्याउन खोज्छन् । यद्यपी यो समस्याको हल होइन । यस्तो वाक्य सुनेर बच्चाहरु स्वयम् लज्जित हुनपुग्छन् । यसले उनीहरुको भावनामा ठेस पुग्छ ।

उनीहरुलाई महसुष हुँदैन कि अभिभावकले उनलाई सम्झाइरहेका छन् । उनीहरु आफुलाई एक्लो अनुभूत गर्न थाल्छन् । आफ्नो कुरा पोख्न नपाएकोमा पीडावोध गर्छन् ।

बच्चाको मनोदसा किन बिग्रिएको छ, उनीहरु किन दुःखी छन् ? अभिभावकले सुन्नुपर्छ । उनीहरुलाई सोझै ‘तिमी दुःखी हुनु हुँदैन’ भनेर उपदेश दिनुभन्दा उनीहरु के कारणले दुःखी भएका हुन् थाहा पाउनुपर्छ । उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ । बच्चालाई आत्मियता अनुभूत हुनुपर्छ ।

बच्चा के कारणले दुःखी भएका हुन् त्यसबारे अभिभावकले चासो राख्नुपर्छ । बच्चा किन क्रोधित छन्, किन हतोत्साही छन् अभिभावकले बुझ्ने कोशिस गर्नुपर्छ । अतः ‘म तिम्रो ठाउँमा भएको भए यस्तो गर्थें’, ‘म तिम्रो अवस्थालाई बुझ्न सक्छु’ भन्ने जस्ता कुराले उनीहरुलाई सहज बनाउँछ । अतः उनीहरु अभिभावकसँग नजिक भएको अनुभूत गर्छन् । उनीहरु अभिभावकसँग मिलेर आफ्नो समस्या हल गर्ने प्रयास गर्छन् । अतः बच्चामा सुरक्षाको भावना विकास हुन्छ । उनीहरु अभिभावकसँग तार्किक रुपले सोच्न सुरु गर्छन् ।

बच्चालाई मार्गदर्शन चाहिन्छ आदेश होइन

बच्चासँग साथीको जस्तै सम्बन्ध बनाउनुपर्छ । दुबैले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । अक्सर हामी बच्चालाई आदेश दिने गर्छौं । यो गर, त्यो नगर भन्छौं । यो खानु, त्यो नखानु भन्छौं । यसरी आदेश दिनुभन्दा उनीहरुले कसरी गरिरहेका छन्, कसरी खाइरहेका छन् त्यसलाई हेरेर उपयुक्त मार्गदर्शन दिनुपर्छ । तपाईंले बच्चालाई केही कुरा कसरी गर्ने भनेर सिकाउन सक्नुहुन्छ । यद्यपि तपाईं आफै उनीमाथि हावी हुन सक्नुहुन्न । तपाईंले बच्चाले गरिरहेको काममा आफ्नो सुझाव दिन सक्नुहुन्छ । यद्यपि निर्णय दिन सक्नुहुन्न । अन्तिम निर्णय बच्चालाई छाडिदिनुहोस् ।

सकारात्मक वातावरण दिनुहोस्

बच्चालाई सकारात्मक वातावरण दिनुहोस् । उनीहरुलाई यो कुरा पनि महसुष गराउनुहोस् कि जीवनमा सबैकुरा संभव छ र जे पनि गर्न सकिन्छ । बच्चाको अगाडि संभावनाको ठूलो संसार छ । उनीहरुलाई नकारात्मक हुनबाट चाहि बचाउनुहोस् । सकारात्मक वातावरणमा हुर्कने अनुकुलता दिलाउनुहोस् ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     6:37:32 PM
error: Content is protected !!