☰ open Loading... 19 April 2024|  

क्वाइल जलेपछि तीन सातादेखि विद्युत् आपूर्ति बन्द
  | २८ श्रावण २०७६, मंगलवार ११:१५

पश्चिम रुकुम, जेनेरेटरको क्वाइल जलेपछि मुसीकोट नगरपालिका–९ चौखावाङस्थित लघु जलविद्युत् आयोजना अवरुद्ध भएको छ । तीन सातादेखि विद्युत् आपूर्ति बन्द भएको छ । चुनखोला लघु जलविद्युत् आयोजनाको जेनेरेटरको क्वाइल ६ जेठमा जलेको थियो । त्यसको मर्मतसम्भार नहुँदा अहिलेसम्म विद्युत् आपूर्ति हुन सकेको छैन । विद्युत् आयोजना अवरुद्ध हुँदा दुई सय परिवारका प्रभावित भएको वडाध्यक्ष नवीन ओलीले बताए । ‘विद्युत् सेवा अवरुद्ध भएपछि टुकीकै भर पर्नुपरेको छ । मोबाइल चार्ज गर्न पनि सकिएको छैन,’ वडाध्यक्ष ओलीले भने ।

यो आयोजना ०७० मा निर्माण गरिएको हो । २७ किलोवाट क्षमताको आयोजनाबाट दुई सयभन्दा बढी परिवार लाभान्वित हुँदै आएका थिए । विद्युत् आपूर्ति सुरु गर्न अझै केही समय लाग्ने लघु जलविद्युत् आयोजनाका अध्यक्ष शशिराम पुनले बताए । नयाँ जेनेरेटर खरिद गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । भारतबाट ६ लाखमा जेनेरेटर खरिद गरेर ल्याउने तयारी भइरहेको उनले बताए ।

आयोजनाले ऋण निकालेर जेनेरेटर खरिद गरेको जनाएको छ । जेनेरेटर खरिदमा वडा कार्यालयले पनि सहयोग गरेको उनले बताए । यसमा ६ लाख लागेको र आयोजनासँग पैसा नहुँदा ऋण निकालिएको उनको भनाइ छ । स्थानीय कर्णवहादुर बुढाबाट ६ लाख ऋण निकालिएको उनले बताए ।