☰ open Loading... 20 April 2024|  

बजार नपाउने डरले काँचो स्याउ बिक्री
  | ३२ श्रावण २०७६, शनिबार १५:५४

कालिकोट, कालिकोटका विभिन्न बजारमा यो वर्ष पनि नपाकेको काँचो स्याउ छ्याप्छयाप्ती बिक्री हुन थालेको छ । हरेक वर्षझैँ छिट्टै पैसा हात पर्ने आशामा किसानले काँचो स्याउ बजारमा ल्याएर बिक्री गर्ने गरेका हुन् । कालिकोटको उत्तरी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिकाको फोइमहादेव, ओदानकु, राम्नाकोट, राचुली, जुबिथा गेलालगायतका ठाउँमा फलेका स्याउले बजार पाउन सकेको छैन ।

‘स्याउका बगैँचा बर्सेनि बढ्दै छन् । यहाँ न बजार पाइन्छ न त भण्डारका लागि सुविधा छ । स्याउ फलाएर मात्र के गर्नु ?,’ तिलागुफा नगरपालिका–६ जुबिथाका कृषक जनकबहादुर शाहीले बताए । बगैँचामा पुगेका ग्राहकलाई एक रुपैयाँको तीन÷चार दाना दिने गरेको उनको भनाइ छ ।  भने, ‘बिक्री नभएको स्याउ गाईभैँसीलाई दिनुको विकल्प छैन ।’ उनले राम्रोसँग पाकेको स्याउलाई स्टोर गर्ने तरिकासमेत थाहा नभएकाले गाईभैँसीलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

 ‘स्थानीयले तत्काल पैसा पाउने भएका कारण चाँडै बिक्री गर्न थालेका छन्,’ रास्कोट नगरपालिका–९ फुकोटका मोहन न्यौपाने भने, ‘कालिकोटमा स्याउको दाना बिक्री नभए अन्य विकल्पका रूपमा प्रयोग गर्ने कुनै ज्ञान पनि छैन ।’ रास्कोट नगरपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले भने स्याउको जुस, अचार र चाना बनाउन सकिने बताए । त्यसतर्फ किसानको ध्यान जान नसकेको उनको भनाइ छ । ‘किसानलाई स्याउको प्रयोगका विषयमा राम्रो  ज्ञान नहुदाँ यस्तो समस्या आएको हो,’ उनले भने, ‘राम्रो ज्ञान भयो भने स्याउ खेर जाँदैन ।’

अन्नबाली छोडेर स्याउको खेती गर्न थाले पनि बजारको समस्याका कारण किसानले चाँडै स्याउ बेच्नुपरेको दुखेसो गरे । गहँु खेती गर्ने ठाउँमा स्याउ खेती गरेर अहिले ६ सयभन्दा बढी स्याउका बोटले फल दिन सुरु गरे पनि बजार नपाउँदा बस्तुभाउ र चराचुरुंगीको चारो हुने गरेको  तिलागुफा नगरपालिका–१० का स्याउ किसान मनबहादुर थापाले बताए ।