☰ open Loading... 19 April 2024|  

बगरमै पिर्का राखेर मुख्यमन्त्री शाहीले लिए सलामी
  | ३२ श्रावण २०७६, शनिबार १५:५६

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् ।

मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।

उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् ।

यसैबीच, साताव्यापी गृहजिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई पचालझरनाको फेदीमा स्थानीय बासिन्दाले २० किलोग्रामको स्याउको माला लगाएका छन् । पचाल झरना गाउँपालिकाको पाँचाँै विशेष गाउँसभालाई सम्बोधन गर्न गएका मुख्यमन्त्री शाहीलाई स्थानीय बासिन्दाले एक सय ८१ दाना स्याउको माला लगाएका हुन् ।

पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने एक सय ८१ मिटर उचाइको ओझेलमा परेको पचालझरनाको पर्यटकीय विकासका लागि प्रदेश सरकारको एजेन्डा बनोस् भन्ने उद्देश्यले माला लगाएको बताए । प्रदेश सरकारको ध्यानाकर्षण गराउन माला लगाएको उनको भनाइ छ ।