☰ open Loading... 20 April 2024|  

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?
  | ३ भाद्र २०७६, मंगलवार २०:५०

एजेन्सी । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए । तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ ।

यसरी प्रयोगकर्ताका अडियो सुन्न कर्मचारी राख्ने फेसबुक चौथो प्रमुख कम्पनी रहेको छ । यसअघि एप्पल र अमेजोन पनि यस्तैगरी प्रयोगकर्ताका व्यक्तिगत रेकर्डिङ सुनेको आरोपमा विवादमा आएका थिए । अहिले विज्ञहरुले कम्पनीको त्यस्तो निर्णयको आलोचना गर्दै यसले प्रयोगकर्ताको गोपनियताको अधिकार उल्लंघन गरेको भनि विरोध जनाएका छन् ।

गत अप्रिलमा मात्र अमेजोनले एलेक्साको गुणस्तर सुनिश्चित गर्न प्रयोगकर्ताले त्यसमा बोलेका कुरा मानव निरीक्षकहरुले जाँच गर्ने गरेको खुलासा गरेको थियो । जसमा थुप्रै देशका कन्ट्राक्टरले आफूले सुन्ने कतिपय रेकर्डिङ दुःखद र सम्भावित रुपमा अपराधिक हुने गरेको गुनासो गरेका हुन् ।

यसरी फेसबुकले आफ्ना प्रयोगकर्ताका सबै अडियो संवादहरु सुन्न मान्छे राख्दै आएकाबारे मंगलबार मात्र खुलासा गरेको हो । केही समय अगाडि मात्र फेसबुकले गोपनीयताको मुद्दामा अमेरिकाको फेडेरल ट्रेड कमिसनसँग पाँच अर्ब डलरको सम्झौता गर्नुपरेको थियो । यसैकारण मंगलबार कम्पनीको शेयरमा पनि १.६ प्रतिशतले गिरावट आएको बताइएको छ । फेसबुकका अनुसार पहिलोपटक सन् २०१५ मा प्रयोगकर्ताका गोप्य अडियो अरुलाई सुन्न दिइएको थियो ।