☰ open Loading... 20 April 2024|  

सल्यानमा एक वर्षमा पाँच किलोमिटर पक्की कुलो निर्माण
  | ७ भाद्र २०७६, शनिबार ११:१२

सल्यान: शारदा नगरपालिका ६ बरलाको एक सयपाँच रोपनी जमिनमा सिँचाइ पुगेपछि कृषक खेतीप्रति उत्साहित भएका छन्।   प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि  भरपर्दो सिचाई सुविधा नहुँदा कृषकले व्यवसायिक खेती गर्न सकेका थिएनन।

कृषि ज्ञान केन्द्र रुकुम पश्चिम सम्पर्क केन्द्र सल्यानले सिचाई कुलो निर्माणगरिदिएपछि  १०५ रोपनी जमिन सिन्चित हुँदा एक दर्जन बढी घरधुरीका कृषक लाभान्वित बनेका छन्।

स्थानीय खोलाको पानी पक्की कुलो निर्माणगरेर खेतसम्म पुर्‍याइएको छ। परम्परागत कुलोलाई पक्की संरचना निर्माण गरेर खोलाको पानी खेती पुर्‍याएको बरलाका कृषक टोपेन्द्रप्रसाद गौतमले बताए। उनले भने वर्षायाममा पनि खेतमा कुलो लगाउन धौ पर्दथ्यो पक्की कुलो बनेपछि सिँचाइमा निकै सहज भएको छ।

कच्ची कुलोले गर्दा पानी बीचमै हराउने, कुलो भत्किन समस्या समाधान भएको  गौतमले बताए। १३८ मिटर पक्की सिँचाइ कुलो निमार्णका लागि ३ लाख खर्च भएको उनको भनाई छ। यस्तै कालिमाटी १ लक्ष्मिपुरमा लहरे साँझ हारे जर्खेनी सिँचाइ योजना निर्माण भएको छ। सिँचाइ कुलो निर्माण पछि यहाँको १५० रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको कृषक हुर्मतवहादुर पुनले वताए। सिँचाइ कुलो निर्माणका लागि कृषि ज्ञान केन्द्रले ३९ लाख रकम खर्च गरेको उनको भनाई छ।

मौसमी बाली लगाउन बाध्य किसान सिँचाइ कुलो निर्माणभएपछि अन्नबालीका साथै तरकारी खेतीमा आकर्षित भएको उनले बताए। वनगाड कुपिण्डे नगरपालिका  १० टाटके मा पनि पक्की सिँचाइ कुलो निर्माण भएपछि कृषक तरकारी खेतीमा उत्साहित भएका छन्। उनीहरूले ८ लाख रुपैयाँ लागतमा ७५० सिँचाइ कुलो निर्माण  गरेका हुन।

पक्की सिँचाइ कुलो निर्माण भए पनि मौसमी तथा बेमौसमी तरकारी खेती गर्न निकै सहज भएको कृषक चम्फा पुरीले बताइन्। उनले भनिन्, ‘यहाँ पहिले मकै लगाउने गरेका थियौं। यो वर्षदेखि धान खेतीसँगै तरकारी खेती सुरु गरेका छौं।’  उनका अनुसार पहिले कच्ची कुलो हुँदा पानी कुलोमै हराउने भएकाले मुहान छेउमा धान रोपाई भए पनि पुच्छारतिर पानी पुग्दैनथ्याे।

सल्यानमा गएको आर्थिक वर्षमा ५ किलोमिटर सिँचाइ कुलोलाई पक्की वनाइएको छ। कृषि ज्ञान केन्द्र रुकुम (पश्चिम) सम्पर्क केन्द्र सल्यानले गएको आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा ११ वटा सिँचाइ योजनाअन्तर्गत  ५ किलोमिटर पक्की सिँचाइ कुलो निर्माण भएको कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र सल्यानले जनाएको छ।

सिँचाइ कुलो निर्माण भएपछि करिब २३ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुगेको  कृषि अधिकृत रेशमकुमार वस्नेतले बताए। सिँचाइ योजना निर्माण लागि  २ करोड २२ लाख १०० रुपैयाँ खर्च भएको वस्नेतको भनाई छ।

थाहाखबरबाट