☰ open Loading... 19 April 2024|  

भारतीय कम्युनिष्ट पार्टीको गल्ती दोहोरिन नदिन प्रचण्डको आग्रह
  | ७ भाद्र २०७६, शनिबार ११:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् ।

प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताए । उनले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरुको आन्दोलन नै महत्वपूर्ण रहेको र कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताए ।

पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पुर्‍याउने जिम्मा नेकपाको काँधमा रहेको बताए । उनले भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए ।

उनले भने, “पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र सङ्घर्ष गरेर सत्ता उल्टिएको होइन, कम्युनिष्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्, हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ त्यस्तै देखिएको छ ।” यद्यपि त्यस्तो परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको अध्यक्ष दाहालले बताए ।

देशको विकास र समृद्धिलाई वैज्ञानिक तवरले अघि बढाउन इञ्जिनीयरहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अध्यक्षले मनोवादका विरुद्ध वस्तुगत कुराको हाबी गराउँदै नेपालमा वैज्ञानिकता लागू गराउन इञ्जिनीयरहरुको योगदान अपरिहार्य रहेको औँल्याए ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले ‘समाजवाद : वर्गसम्बन्ध, उत्पादन सम्बन्ध र उत्पादन शक्ति’ को विषयमा प्रशिक्षण दिए । त्यस्तै ‘नेकपाको वैदेशिक नीति’ का बारेमा नेता डा राजन भट्टराई, ‘नेकपाको राजनीतिक कार्यदिशा र रणनीति’ को बारेमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, ‘माक्र्सवादी दर्शन, व्यवहार र आचरण’ को बारेमा नेता युवराज ज्ञवाली, ‘समृद्धि र पूर्वाधार निर्माण’ सम्बन्धमा नेता देवप्रसाद गुरुङले प्रशिक्षण दिए ।

कार्यक्रममा नेपाल इञ्जिनीयरिङ एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य, शम्भुबाबु श्रेष्ठ, प्रशिक्षण विभागका प्रमुख केशवराज विष्ट, छवि अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।