☰ open Loading... 20 April 2024|  

सल्यानमा प्याराग्लाइडिङको सफल परीक्षण
  | ११ भाद्र २०७६, बुधबार २०:४१

सल्यान : सल्यानमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ।

जिल्लाको शारदा नगरपालिका २ खलंगा लुहापिङबाट प्याराग्लाइडिङको परीक्षण गरिएको हो। उक्त स्थानबाट गरिएको परीक्षण उडान शारदा नगरपालिका १ श्रीनगर बजारमा अवतरण गरिएको थियो। रुकुमका सुनिल रावल र कास्कीका भूवन गाहले प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन्। एकल प्याराग्लाइडिङ ६ मिनेटमा श्रीनगर बजारमा अवतरण भएको थियो।

सफल उडानपछि दृश्यवलोकनको लागि महत्वपूर्ण स्थान रहेकाले व्यावसायिक रूपमा अगाडि बढाउन सकिने पाइलट सुनिल रावले सुझाब दिए।

‘शारदा नदीको फाँट, बजारको दृश्यावलोक राम्रो छ,’ उनले भने, ‘यहाँ प्याराग्लाइडिङ गर्दा राम्रो  सम्भावना छ।’ पर्यटन प्रवर्द्धननका लागि साहसिक खेलको रूपमा अत्यन्त रुचाइएको प्याराग्लाइडिङ सफल परीक्षण गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष सुधन श्रेष्ठले बताए। ‘यहाँ पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ पनि एक हुन सक्छ’ उनले भने।

जिल्लाको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रलाई प्रवर्द्धन गर्न यसले थप टेवा पुर्‍याउने श्रेष्ठको भनाइ छ। उडान सफल भएकोमा खुसी व्यक्त गर्दै साहसिक खेलको व्यावसायिक विकास तथा प्रवर्द्धनको लागि अगाडि बढ्ने घरेलु तथा साना उद्योग व्यवसायी महासंघका अध्यक्ष वीरेन्द्र भण्डारीले वताए।

यसको थप अध्ययन गरी  प्याराग्लाइडिङका उडानका लागि आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए। शारदा नदीको फाँट, छाया क्षेत्र शक्तिपिठ, खैरावाङ भुवनेश्वरी मन्दिर, प्रख्यात सल्यानी खुकुरी उत्पादन पनि यही हुने भएकाले पर्यटनको राम्रो सम्भावना भएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए। नगरपालिका तर्फबाट पनि प्याराग्लाइडिङ सम्भावनाबारे विस्तृत छलफल गर्ने प्रमुख अधिकारीले बताए। सफल उडानपछि परीक्षण सहभागि सुनिल रावल र भुवन गाहलाई स्थानीयले सम्मानसमेत गरेका थिए।

थाहाखबरबाट