☰ open Loading... 16 April 2024|  

नेपालको राजनीतिले युवा मागेको छः साउँद
  | १२ भाद्र २०७६, बिहीबार १६:३९

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालको राजनीतिले युवा मागेको बताउँदै युवालाई राजनीतिमा लाग्न सल्लाह दिएका छन् । ग्लोबल युथ एलायन्सले बिहीबार राष्ट्रियसभा भवनमा आयोजना गरेको ‘युवा र राजनीति’ विषयक विचार गोष्ठिमा नेता साउदले युवालाई यस्तो सल्लाह दिएका हुन् ।

राजनीतिमा परिवर्तनका लागि, समाज परिवर्तनका लागि योगदान दिन सकिएन भने राजनीतिमा ९० वर्षसम्म लागि राख्नुको पनि केही अर्थ नभएको जिकिर गर्दै उनले भने, “त्यस कारण राजनीतिले युवा मागेको छ । क्वालिटेटिभ युवा मागेको छ, योगदान दिन सक्ने युवा मागेको छ । त्यो भूमिका ग्लोबल एलायन्सका युवाहरुले पूरा गर्न सक्नुभो भने यो कार्यक्रमको सार्थकता पनि अगाडि बढ्ने छ ।”

कांग्रेसले लगातार युवालाई अगाडि बढाउने प्रयत्न गरिरहेको भन्दै नेता साउदले आगामी महाधिवेशनमा युवालाई स्थान दिने गरी विधान संशोधन गरेर पार्टीले थप ढोका खुला गर्ने बताए ।

“नेपाली कांग्रेस लगातार युवाहरुलाई अगाडि बढाउने कोसिस र प्रयत्न गर्दैछ । वैधानिक संरचनाहरुमा केही खुकुलोपन आएको छ,” उनले भने, “र, आगामी महाधिवेशनमा पनि विधानमा केही संशोधन हुन सक्यो भने युवाहरुको स्पेसलाई विस्तरित गरेर नेपाली कांग्रेसले थप ढोकाहरु खोल्ने छ ।”