☰ open Loading... 16 November 2019|   आइतवार, मंसिर १, २०७६

नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो

  |

२३ गाई मृत भेटिए, ५० बढी घाइते

सुशील खड्का
सुर्खेत, १३ भदौ ।
बाँकेको नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाई मध्ये वीरेन्द्रनगरको कटकुवा जंगलमा २३ वटा मृत भेटिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरीक्षक) उदयसिंह सिजापतिले ८ वटा ट्रकमा ल्याइएका गाईहरु आज बिहान करिब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताउनुभयो । ९ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ ।

जङ्गलमा फेला परेका मध्ये एक सय ५० भन्दा बढी चौपायाहरु घाइते अवस्थामा छन् । गएराती साढे १२ बजे चौपाया बोकेका आठ वटा ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिएको छ ।

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् । नेपालगञ्ज उप–महानगरपालिका–११ बेतहनीमा रहेको काञ्जिहाउसबाट ल्याईएका दुई सय ९१ वटा गाई दैलेखको श्रीस्थान लैजानेक्रममा सुर्खेतको कटकुवा छोडिएको हो ।

जंगलमा जताभावी छोडिएका गाई सवैको कानमा ट्याग लगाईएको छ । छोडिएका पशुको वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारको संयुक्त पहलमा उपचार भइरहेको छ भने छोडेर फर्कदै गरेको अवस्थामा पाँच वटा ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पठाएको पत्रका आधारमा गाई ल्याईएको र घटनामा उप–महानगरपालिका समेत संलग्न रहेको भन्दै प्रचलित कानून अनुसार घटनामा संलग्न सवैलाई कारवाहीको प्रक्रिया अघि बढाईने प्रहरीको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     6:24:33 PM
error: Content is protected !!