☰ open Loading... 25 April 2024|  

बागीनाले तीज सदभाव मेलाको आयोजना गर्दै
  | १५ भाद्र २०७६, आईतवार १०:३०

सुशील खड्का
सुर्खेत । हरितालिका तीजको अवसरमा बागीना सुर्खेतले सद्भाव मेलाको आयोजना गर्ने भएको छ । हराउँदै गएको मौलिक कला संस्कृतीको संरक्षण गर्ने हेतुले सोमबार तीजको अवसरमा बागीनाले मेलाको आयोजना गर्न लागेको हो ।

हरितालिका तीज सदभाव मेला अायाेजना बारे जानकारी दिँदै बागीना समुहका कालाकाहरू ।

स्थापनाकालदेखी नै संस्कृती जगेर्नामा लागेको बागीनाले यसवर्ष पनि मेलाको आयोजना गर्न लागेको हरितालिका तीज सदभाव मेला संयोजक सीता भण्डारीले जानकारी दिनुभयो । उहाँका मेलामा मौलिक रुपमा नृत्य प्रस्तुत गर्ने टिमलाई पुरस्कार प्रदान गरिने छ ।

वीरेन्द्रनगरको खुलामञ्चमा सञ्चालन गरिने मेलामा नृत्य, भेषभुषा, गायन र बाद्यवादनका आधारमा प्रतियोगी छनौट गरिने भण्डारीको भनाई छ । ‘खुलामञ्चमा विभिन्न समूह वा वडागत रुपमा प्रस्तुती गर्नेहरुको विवरण संकलन गरिने छ’ संयोजक भण्डारीले भन्नुभयो, ‘उत्कृष्ट समुहहरुले गरेको प्रस्तुती निर्णायकमण्डलले पुनः मञ्चमा प्रस्तुती गर्न लगाएपछि पुरस्कारका लागि प्रतिस्पर्धाबाट छनौट गरिने छ ।’

संयोजक भण्डारीकानुसार प्रतियोगितामा विद्यालयका बालबालिका र वृद्धवृद्धाहरुको प्रस्तुती समेत छुट्टाछुट्टै मुल्यांकन गरिने छ । तीजमा झागिँदै गएको विकृतीको अन्त्य गर्न संस्कृतीमा मौलिकता ल्याउन चार विद्यामा प्रस्तुती अनिवार्य गर्नु पर्ने नियम रहेको भण्डारीले उल्लेख गर्नुभयो ।

मेलाका लागि सम्पूर्ण तयारी पूरा भएकाले सोमबार दिउँसो १२ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । विद्यागत रुपमा उत्कृष्टलाई दिइने पुरस्कार राशी बागीना सुर्खेतले साँझ मात्रै निक्र्यौल गर्नेछ ।

कार्यक्रम बारे जानकारी आयोजना गरिएको पत्रकार सम्मेलनमा बरिष्ठ कलाकारद्वय प्रेमदेव गिरी, खम्बराज गिरी, कलाकार मिलन सुवेदी, ज्ञानबहादुर नेपाली, कलाकार एवम् पत्रकार भानुभक्त अधिकारी लगायतको उपस्थिति थियो ।