☰ open Loading... 25 April 2024|  

लोप हुँदै मौलिक परम्परागत गहना
  | १५ भाद्र २०७६, आईतवार १३:४७

सल्यान : आधुनिकतासँगै सल्यानमा स्थानीय मौलिक गहना लोप हुँदै गएका छन्। जिल्लामा महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बालाजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका हुन्। अहिले जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभइ अधिकांस ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन्।

महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका लगाउन थालेका कारण पुराना गहना लोप हुँदै गएका छन्। जिल्लाको पश्चिम क्षेत्रका केही महिलाले मौलिक संस्कृतिको जर्गेना गर्ने भन्दै छोडेका छैनन। उनीहरूले अहिले पनि चाड-पर्व, मेला पर्वमा जाँदा  पुराना गहना लगाएर जाने गरेका छन्। पुरानो सस्कार बिर्सन नसक्ने र रहरले पनि पुरान गहना लगाउने गरेको बन्गाड कुपिण्डे नगरपालिका-८ की ७० वर्षीय खुइती बोहराले बताइन्।

‘पुरानै रीति पुरानै सस्कार गरम भने मैले अहिले पनि पुरानै गहना लगाउछु’ उनले भनिन्, ‘अब म बाचुन्जेलसम्म यहि पुरानो गहना लगाउने हो।’ छोरानातिले पुराना गहना नलगाउन आग्रह गरे पनि आफ्नो चोलासम्म लगाइरहने बोहराले बताइन्। नयाँ डिजाइनका गरगहनाभन्दा आफ्नै पालका गरगहना लगाउँदा आफूलाई सन्तुष्टि मिल्नुका साथै पुरानो संस्कृतिको सरंक्षण गर्ने उनको भनाइ छ। पछिल्लो समयमा अरूको देखासिकीले पनि सस्कारलाई बिर्सेर पुराना गरगहना लोप हुँदै गैरहेको छत्रेश्वरी गाउँपालिका-३ की शर्मिला वलीले  बताइन्। नयाँ गहना लगाएर राम्रो देखिन्छौ, सुन्दर देखिन्छौ भन्ने सोचले पनि पुरानो गहना लोप भएको उनको भनाइ छ। लोप हुन थालेका गहना बचाउनको लागि अहिलेका पुस्ताले पनि प्रयोग गर्नुपर्ने बताइन्।

‘समाज विकासका क्रमसँगै परिवर्तन चाहने हुँदा महिला पुराना गरगहना लगाउन चाहँदैनन्’ उनले भनिन् ‘त्यसको बदलामा नयाँ डिजाइनका गरगहनाको प्रयोग गर्छन्।’ गाउँघरतिरका महिलाले मात्र पुराना गरगहना लगाउने तर शहर बजारकाले नयाँ नयाँ डिजाइन खोज्ने भएकाले लोप हुन थालेको दंगाली सुनचाँदी पसल श्रीनगरका व्यापारी प्रकाश सुनारले बताए। पुराना गरगहना बनाउने कालिगढसमेत पाउन मस्किल हुने गरेको उनको भनाइ छ।