☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

सुर्खेतमा यूरिया मलको अभावहुँदा किसान समस्यामा

  |

सुशील खड्का
सुर्खेत । कृषकले आवश्यक परेकै बेला सुर्खेतमा यूरिया मलको अभाव भएको छ । धान खेतीका लागि आवश्यक परेको बेला सुर्खेतका कृषकहरुले मल नपाएपछि मारमा परेका हुन् ।


कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतबाट कृषकहरुले अनुदानमा यूरिया मल पाउँदै आएका थिए । तर एक महिना यता सुर्खेतसहित सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा अनुदानको मल अभाव भएको छ ।

गत साउनमा ४२ टन आएको यूरिया मल सकिएको कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतका प्रमुख टोपराम गौतमले जानकारी दिनुभयो । ‘ग्लोबल टेण्डरअनुसार सुर्खेतमा युरिया मल आउँछ’ गौतमले भन्नुभयो, ‘तर यो वर्ष कृषकलाई आवश्यक परेकै बेला भित्र्याउन सकिएको छैन् ।’ ओमनबाट मल आउन लागेको जानकारी आएपनि नेपाल प्रवेश गरिनसकेको गौतमको भनाई छ ।

उहाँकाअनुसार सुर्खेतमा झण्डै दुईसय टन युरिया मल अभाव देखिएको छ । ‘हामीलाई समयमै मल आए दुईसय टन भए पुग्ला’ गौतमले थप्नुभयो, ‘एक सातासम्म सुर्खेतमा मल आइपुग्छ भन्ने विश्वास लिएका छौं ।’

सुर्खेतमा साउनदेखिनै अनुदानित मल अभाव भएको हो । विगतमा बाँके र बर्दियाको चोरी नाकाबाट भित्रने मल समेत सुर्खेत आउँन नपाउँदा अभाव देखिएको कृषकहरुको भनाई छ । कहिकतै युरिया मल पाइएपनि प्रति किलो ५० रुपैयाँमा किन्नु परेको कृषकहरुको गुनासो छ ।

सुर्खेतमा डिएपी मल भने अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले जनाएको छ । कृषि सामग्रीले सहकारीलाई आवश्यकताका आधारमा २० देखी ३० बोरा युरिया मल विक्री गर्दै आएको छ । कृषकले भने सहकारीमार्फत मल खरिद गर्दै आएका छन् ।

पश्चिम रुकुम र जाजकोटमा नेपालगञ्ज, सल्यानमा दाङ तथा कालिकोट, सुर्खेत र दैलेखमा कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले मल अापुर्ती गर्दै आएको छ । तर हुम्ला, मुगु र डोल्पामा आवश्यकता बाहेक अन्य बेला रसायनिक मल प्रयोगमा प्रतिवन्धित जिल्ला हुन् ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     7:49:50 PM
error: Content is protected !!